खाद्य प्रणालीमा रूपान्तरण जरुरी

14
Shares

काठमाडौं, (नेस) ।

हरेक ठाउँका बालबालिकाका लागि पौष्टिक, सुरक्षित, किफायती र दिगो आहार पुर्‍याउन सक्ने गरी खाद्य प्रणालीलाई रूपान्तरण गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघीय नियोग र विश्व खाद्य संगठनले जोड दिएको छ ।

संयुक्त राष्ट्रसंघ खाद्य प्रणालीको शिखर सम्मेलनअघि युनिसेफका कार्यकारी निर्देशक हेनरीटा एच फोर र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अडानोम गेब्रियसस्ले संयुक्त विज्ञप्ति जारी गर्दै सबै देशका सरकार र निर्णयकर्तालाई बालबालिका र युवाको आवाजलाई केन्द्रबिन्दुमा राखेर नीति र रणनीतिहरू निर्माण आह्वान गर्नुभएको छ ।

विज्ञप्तिमा विश्वव्यापीरूपमा बाल मृत्युदरको प्रमुख कारण रहेको कुपोषणले गर्दा ३ मध्ये १ बालबालिकाको राम्रोसँग विकास हुन सकेको छैन भने २ बालबालिका बढ्न, उनीहरूको विकास हुन र उनीहरूले सिक्नका लागि आवश्यक न्यूनतम विविध आहारहरूको पहुँचबाट वञ्चित रहेको उल्लेख छ ।

त्यस्तै, विज्ञप्तिमा बालबालिकामा निरन्तर ख्याउटेपन र चिन्ताजनकरूपमा बढ्दै गएको मोटोपनको समस्या, हालका दशकहरूमा विश्वव्यापीरूपमा खाद्य प्रणालीमा भएका परिवर्तनहरूसहित खाद्यान्न वृद्धि, वितरण, बजार, उपभोग र खाद्यान्नलाई हामीले खेर फाल्ने अभ्यासहरूमा भइरहेका परिवर्तनहरूको फलस्वरूप सबैभन्दा पौष्टिक र सुरक्षित खाना लाखौं परिवारहरूका लागि धेरै महँगो भएको वा पहुँचभन्दा बाहिर पुगेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।