जसपाका तीन सांसदलाई पदमुक्त गर्न निवेदन दर्ता

126
Shares

यमलाल भुसाल, बुटवल ।

पार्टी निर्णयविपरीत सरकारमा गएका जनता समाजवादी पार्टी (जसपा) का तीन सांसदलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न पार्टी संसदीय दलले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको छ ।

सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना लम्साललाई पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णयअनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको हो ।

पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएका र पटक–पटक पार्टीको ह्विप उल्लंघन गरेकाले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरिएको जसपा संसदीय दलका नेता सहसराम यादवले बताउनुभयो । पाण्डेय, यादव र लम्साल हाल शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन् ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको पत्रमा गत असार ३ गतेको कार्यकारिणी समिति बैठकको निर्णय र प्रदेशसभा सदस्यहरुलाई सोधेको स्पष्टीकरण पत्रको प्रतिलिपि, साउन १२ गतेको कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि र असार ५ गते पार्टीको आधिकारिक इमेल र ६ गते हुलाकबाट पठाइएको पत्रको प्रतिलिपि पनि प्रदेशसभा सचिवालयलाई उपलब्ध गराइएको नेता यादवले बताउनुभयो ।
पार्टीको निर्णयविपरीत सरकारमा गएका चार जना प्रदेशसभा सदस्यमध्ये सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएर पार्टीको निर्देशनअनुसार चल्ने प्रतिबद्धता जनाएका कारण उहाँलाई कारबाही नगरिएको यादवले बताउनुभयो ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जसपा संसदीय दलले दर्ता गरेको पत्रबारे सभामुख पूर्णबहादुर घर्तीले कानुनी र राजनीतिक परामर्श गरेर निर्णय गर्ने बताउनुभयो । प्रदेशसभा सचिवालयले सूचना टाँस गरेपछि उनीहरु पदमुक्त हुने संवैधानिक प्रावधान छ ।

जसपाका तीन सांसद पदमुक्त भएको अवस्थामा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार संकटमा पर्नेछ । यद्यपि मुख्यमन्त्री पोखरेल अहिले पनि अल्पमतमै परिसक्नुभएको छ । भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएसँगै मुख्यमन्त्री पोखरलले बहुमत गुमाउनुभएको हो । उहाँको पक्षमा एमालेका ३८ जना र जसपाका ३ जना गरी ४१ मत छ । विपक्षी गठबन्धनमा सभामुखसहित ४२ मत छ । जसपाका तीन सांसदहरु पदमुक्त हुँदा हाल ८३ सदस्यीय रहेको प्रदेशसभा ८० सदस्यीय हुनेछ । त्यति बेला मुख्यमन्त्रीको पक्षमा एमालेका ३८ सांसद मात्र रहनेछन् ।