जसपाका तीनजना सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा निवेदन दर्ता



यमलाल भुसाल, बुटवल ।

पार्टी निर्णय विपरित सरकारमा गएका जनता समाजवादी पार्टी (जसपा) का तीनजना सांसदलाई प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न पार्टी संसदीय दलले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना लम्साललाई पार्टीको कार्यकारिणी समितिले गरेको कारवाहीको निर्णय अनुसार जसपा लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको हो ।

पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएका र पटक पटक पार्टीको ह्वीप उल्लंघन गरेकाले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरिएको जसपा संसदीय दलका नेता सहसराम यादवले बताउनुभयो । पाण्डेय, यादव र लम्साल हाल शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन् ।

प्रदेश सभा सचिवालयमा दर्ता भएको पत्रमा गत असार ३ गतेको कार्यकारिणी समिति बैठकको निर्णय र प्रदेशसभा सदस्यहरुलाई सोधेको स्पष्टीकरण पत्रको प्रतिलिपि, साउन १२ गतेको कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि र असार ५ गते पार्टीको आधिकारिक इमेल र ६ गते हुलाकबाट पठाइएको पत्रको प्रतिलिपि पनि प्रदेशसभा सचिवालयलाई उपलब्ध गराइएको नेता यादवले बताउनुभयो ।

पार्टीको निर्णय विपरित सरकारमा गएका चार जना प्रदेशसभा सदस्यमध्ये सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएर पार्टीको निर्देशन अनुसार चल्ने प्रतिवद्धता जनाएका कारण उहांलाई कारवाही नगरिएको यादवले बताउनुभयो । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जसपा संसदीय दलले दर्ता गरेको पत्रबारे सभामुख पूर्णबहादुर घर्तीले कानूनी र राजनीतिक परामर्श गरेर निर्णय गर्ने बताउनुभयो ।

प्रदेश सभा सचिवालयले सूचना टांस गरेपछि उनीहरु पदमुक्त हुने संवैधानिक प्रावधान छ । जसपाका तीनजना सांसद पदमुक्त भएको अवस्थामा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार संकटमा पर्नेछ । यद्यपि मुख्यमन्त्री पोखरेल अहिले पनि अल्पमतमै परिसक्नु भएको छ ।

भौतिक पुर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएसंगै मुख्यमन्त्री पोखरलले वहुमत गुमाउनुभएको हो । उहाँको पक्षमा एमालेका ३८ जना र जसपाका ३ जना गरी ४१ मत छ । विपक्षी गठवन्धनमा सभामुखसहित ४२ मत छ । जसपाका तीनजना सांसदहरु पदमुक्त हुंदा हाल ८३ सदस्यीय रहेको प्रदेश सभा ८० सदस्यीय हुनेछ । त्यतिबेला मुख्यमन्त्रीको पक्षमा एमालेका ३८ सांसद मात्र रहनेछन्

प्रतिक्रिया दिनुहोस्