प्रहरीको तथ्यांकमा हरेक दिन १९ जनाद्वारा आत्महत्या

350
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालमा हरेक दिन १९ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको एक तथ्याङ्कले देखाएको छ । नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दै गएको सो तथ्याङ्कले देखाएको हो । आर्थिक वर्ष २०७७/७८ मा ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन । अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढीले आत्महत्या गरेको बताइएको छ । आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २ सय ४१ जनाले आत्महत्या गरेका थिए । पछिल्लो समय आत्महत्याका घटना वृद्धि हुनुमा कोरोना संक्रमण र संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको निषेधाज्ञा पनि प्रमुख कारण रहेको विश्लेषण गरिएको छ ।

नेपाल प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा गरेको काम कारबाहीका बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गत आर्थिक वर्षमा मुलुकभर ४० हजार १ सय २० वटा घटना भएका थिए । कोभिड–१९ का कारण प्रहरीको गतिविधि चलायमान हुन नसके पनि अपराध नियन्त्रणका घटनामा भने प्रहरीले आफ्नो सक्रियता तीव्र बनाएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

प्रहरीले गत आर्थिक वर्षमा फरार अभियुक्त पक्राउमा ठूलो सफलता हात पारेको छ । प्रहरीले ७ हजार ३ सय ९० जनालाई पक्राउ गर्न सफल भएको छ । अघिल्लो वर्ष प्रहरीले २ हजार ३ सय ३२ जनालाई पक्राउ गर्न सफल भएको थियो । प्रहरीले ४ हजार २१ वर्ष ८ महिना ३ दिन कैद सजाय पाएका ती व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

सोही अवधिमा प्रहरीले जरिवाना तोकिएका व्यक्तिबाट ४८ करोड ६० लाख ५५ हजार ४ सय ३५ रुपियाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनाको संख्यामा वृद्धि भएको छ । मुलुकभर २० हजार ६ सय ३४ वटा दुर्घटना हुँदा २ हजार ५ सय १३ जनाको ज्यान गएको छ भने ६ हजार ४ सय ५३ जना गम्भीर घाइते भएका छन । दुर्घटनामा पारी १८ हजार ६ सय १८ जना घाइते भएका छन ।

नेपालमा अवैधरूपमा हुने लागूऔषधको कारोबारमध्ये कोकिनको कारोबार गत आर्थिक वर्षमा १६६२ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा प्रहरीले १४ केजी बरामद गरेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा २ सय ६२ केजी अफिम बरामद गरेको छ । प्रहरीले लागूऔषध नियन्त्रणमा चालेका कदमहरु प्रभावकारी हुँदै गएको निष्कर्ष समेत निकालेको छ ।

गत आर्थिक वर्षमा प्रहरीले २७ करोड १५ लाख ९१ हजार ६ सय ८० रुपियाँको सुन बरामद गरेको छ भने ७५ लाख २७ हजार ५ सय ९२ रुपियाँ बराबरको चाँदीसमेत बरामद गरेको छ । हुन्डीको कारोबारलाई निरुत्साहित पार्ने उद्देश्यले देशभर परिचालित प्रहरीले ७ करोड १ लाख ३५ हजार ९ सय ४४ रुपियाँ बरामद गरेको पनि एसएसपी कुँवरले जानकारी दिनुभयो ।

प्रहरीले सो अवधिमा २ अर्ब ९० करोड ९७ लाख १३ हजार ९ सय २३ रुपियाँ राजस्व संकलन गरेको छ ।