सरकारमा सहभागी हुन नेपालमाथि दबाब

168
Shares

काठमाडौं, (नेस) ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका सांसदहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिएका छन् ।

बुधबार बसेको नेपाल समूहका २२ सांसदको बैठकमा उनीहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका थिए ।

छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी सरकारमा जान्छौं, केही कानुनी कुरामा केही समय लागेको मात्र हो, सरकारमा सहभागी हुने विषयमा कानुनविद्सँग पनि परामर्श भइरहेको छ ।’ संविधान र संसद् बचाउनका लागि देउवालाई प्रधानमन्त्री बनाइसकेका अवस्थामा आफूहरू सरकारमा सहभागी नहुने भन्ने प्रश्न नै नभएको उल्लेख गर्दै चौधरीले भन्नुभयो– ‘हामी सरकारमा जान्छौं, सरकारमा सहभागी हुने विषयमा २२ सांसदको एउटै मत छ ।’

वरिष्ठ नेता नेपाल भने पार्टीभित्र एकताको प्रयास जारी रहेकाले तत्काल सरकारमा सहभागी नहुने अडानमा रहनुभएको छ । तर, नेपाल पक्षीय कतिपय सांसद भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । सांसद चौधरीका अनुसार बैठकमा एमाले संसदीय दलको नेतासमेत फेर्नुपर्ने माग उठेको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बूढानीलकण्ठमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहभागी नेपाल समूहका नेता विजय पौडेलले तत्काल सरकारमा सहभागी नहुने जानकारी गराउनुभएको थियो । नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दबाब दिँदै आउनुभएको छ ।

सत्तारूढ गठबन्धनले नेपाल समूहकै पर्खाइमा सरकार बनेको दुई साता बितिसक्दा समेत मन्त्रीमण्डल विस्तार गर्न सकेको छैन । देउवा नेतृत्वको सरकार बनाउने निर्णायक भूमिका निर्वाह गरेको नेपाल समूहले प्रतिनिधिसभामा फ्लोरक्रस गर्दै २२ जना सांसदले विश्वासको मत दिएका थिए । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुने÷नहुने विषयमा नेपाल समूहले ठोस निर्णय गर्न सकेको छैन ।