राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले दिलायो हिमालय माविलाई ल्यापटप

7.8k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुने अन्योल बढेकै बेला काठमाडौंको न्युरोडस्थित हिमालय माध्यामिक विद्यालयले भने अघिल्लो वर्षको बजेटबाट ११ वटा ल्यापटप प्राप्त गरेको छ । कोरोना महामारीका कारण विद्यालयहरू भर्चुअल रुपमा सञ्चालन भइरहेको बेलामा शिक्षकशिक्षिकालाई अनलाईन कक्षाका लागि भनेर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त ६ लाख ५० हजार रुपैयाँको बजेटले ल्यापटप खरिद गरिएको विद्यालय संचालक समितिका अध्यक्ष इन्जिनियर दिल्लीरत्न शाक्यले बताउनुभयो ।

उहाँले विद्यालयको अध्यापनको स्तरोन्नतीका लागि प्राप्त बजेटबाट ल्यापटप खरिद गरिएको र अपुग भएको ल्यापटप सहयोग जुटाउन र विद्यालयको अध्यापनलाई नीजि विद्यालयको स्तरमा पु¥याउन विद्यालय परिवार प्रयासरत् रहेको जानकारी दिनुभयो ।

विद्यालयले मंगलबार ल्यापटप वितरण कार्यक्रमको आयोजना गरी ११ जना शिक्षकशिक्षिकालाई उक्त ल्यापटप वितरण गरिएको थियो । कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त भएको ल्यापटपबाहेक रोटरी क्लब ठमेलका अध्यक्ष सञ्जय घिरैया र निलम गहना पसलका संचालक सागर शाक्यले पनि १–१ वटा ल्यापटप सहयोगस्वरुप विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक हीरालक्ष्मी श्रेष्ठले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र व्यक्तिगत रुपमा प्राप्त भएको ल्यापटपले प्रभावकारी र गुणस्तरिय शिक्षा दिन सहयोग पुग्ने मात्र नभई शिक्षकशिक्षिकाहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न थप हौसला पुग्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं जिल्ला शिक्षा कार्यालयका अधिकृत मोतीप्रसाद भट्टराईले ल्यापटपले शिक्षकशिक्षिकामा जिम्मेवारी थपिएको बताउँदै विद्यालयका बालबालिकाले अब पढ्न नपाएको महशुुस गर्नेछैनन् भन्ने विश्वास व्यक्त गर्नुभयो । हिमालय माध्यामिक विद्यालयलाई हालै मात्र काठमाडौं महानगरपालिका शिक्षा विभागले नमूना विद्यालयको रुपमा छनौट गरेको थियो ।