डडेल्धुरामा काँग्रेस जिल्ला अधिवेशनको तयारी तिव्र : कोही उम्मेदवार सरकारी गाडीमा, कोही अटो रिक्सामा

2.2k
Shares

राम धामी, डडेल्धुरा ।

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली काँग्रेसको सातौं जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ । नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका स्थगित गरिएको भए पनि डडेल्धुरामा भने जिल्ला नेतृत्वका लागि प्रत्यासीहरुको दौडधुप जारी छ ।

नेपाली काँग्रेस डडेल्धुराको सभापति पदका लागि प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाको समर्थन आफुलाई भएको जिकिरगर्दै परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदले जिल्लाव्यापी चुनावी अभियान सञ्चालन गरिरहनु भएको छ । बिभिन्न सरकारी कार्यालयका सवारी साधन र करौंडौ मुल्यका निजी सवारी साधनसहित लावालस्करका साथ एकपटक जिल्ला भ्रमण गरिसकेका साँउद हाल राजधानी पुग्नु भएको छ ।

क्रियासिल सदस्यता वितरणमा आफ्ना कार्यकर्ताहरु छुटेको भन्दै थप क्रियासिल सदस्यता माग गर्न साँउदसहित दर्जनौ जिल्लास्तरीय नेताहरु राजधानी पुग्नु भएको थाहा भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका साँउदले दर्जनौ सवारी साधनमा सयौं नेता कार्यकर्ताहरु राखेर व्यापक चुनावी अभियान सञ्चालन गरिरहेका बेला उँहासँगै प्रतिष्प्रर्धा गर्ने तयारीमा रहनु भएका सभापति पदका अन्य आकंक्षीहरु भने अटो रिक्सा भाडामा लिएर चुनावी प्रचारमा होमिन थालेका छन् ।

मंगलबार नेपाली काँग्रेस अमरगढी नगरपालिका–१ स्याउलेमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति पदका दुई आकंक्षीहरु हरिप्रसाद भट्ट र करुणाकर भट्ट नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका साँसद कर्णबहादुर मल्लसँगै भाडाको अटोरिक्सामा चढेर सहभागी हुनुभयो ।

३२ बर्षदेखि नेपाली काँग्रेस डडेल्धुराको राजनीतिमा सक्रिय महाधिवेशन प्रतिनिधी हरिप्रसाद भट्टले आमा बुबाले दुध बेचेर काठमाण्डौंसम्म पढाउनु भएको बताउनुभयो । ‘विपन्न परिवारमा जन्मिएका ब्यक्तिहरुले राजनीति गर्नु हुँदैन भन्ने किसिमको सन्देश प्रवाह गर्न खोजिएको छ,’ भट्टले भन्नुभयो, ‘तर, महामानव विपी कोईरालाले पार्टी स्थापनागर्दा यस्तो परिकल्पना गर्नु भएको होइन् । पार्टीमा सुकिला मुकिलाहरु हावी भएको उँहाले जिकिर गर्नुभयो ।

घर परिवारले तरकारी बेचेर क्याम्पस पढाउनु भएका नेपाली काँग्रेस डडेल्धुराको सभापति पदका अर्का आकंक्षी करुणाकर भट्ट पनि सोहि अटो रिक्सामा चढेर कार्यक्रममा सहभागी हुनुभयो । हाल निजी विद्यालयमा अध्यापनसँगै नेपाली काँग्रेस डडेल्धुराको उपसभापतिका रुपमा कार्यरत भट्ट विपन्न समुदायका मानिसहरुले राजनीति गर्नु हुँदैन भन्ने मान्यतालाई चिर्न आफुले सभापति पदका लागि प्रतिष्प्रर्धा गरिरहेको बताउनु हुन्छ ।

नेपाली काँग्रेस डडेल्धुरामा लामो समय कार्यवाहक सभापति रहेर कुशल नेतृत्वका रुपमा आफुलाई स्थापित गरिसक्नु भएका भट्टले विपन्न समुदायका पक्षमा काम गर्न आफु राजनीतिमा होमिएको बताउनुभयो । नेपाली काँग्रेस डडेल्धुराको सभापतिका अर्का प्रत्यासी दलित संघ डडेल्धुराका संस्थापक भरत नेपाली हाल पनि सिलाई मेसिन चलाएर जिविकोपार्जन गरिराख्नु भएको छ । पञ्चायतकालमै खरिदारको स्थायी नौकरी त्यागेर काँग्रेसको राजनीतिमा होमिनु भएका नेपाली जिल्लास्तरीय नेताहरुमा निकै सिनियर राजनीतिकर्मी मानिनु हुन्छ ।

‘काँग्रेसका अधिकांस इमान्दार कार्यकर्ताहरुले कामको मुल्यांकन गरेर तपाईले नेतृत्व गर्नुपर्छ भन्ने दबाब दिनुभएकाले मैले सभापति पदका लागि प्रतिष्प्रर्धा गर्न खोजेको हुँ ।’ नेपालीले भन्नुभयो,‘हामी सबै केन्द्रीय सभापति शेरबहादुर देउवाका कार्यकर्ता हौ, तर यँहा कसैलाई कोइराला पक्षको मान्छे, कसैलाई विपन्न मान्छे र कसैलाई जातीय विभेद गरेर नेतृत्व हडप्ने तयारी भईरहेको छ ।’

अमरगढी नगरपालिका–१ का सभापति नरबहादुर दियालको अध्यक्षतामा सम्पन्न भेटघाट कार्यक्रममा नेपाली काँग्रेस डडेल्धुराका सभापति मल्लले काँग्रेसभित्र इमान्दार र कर्तब्यनिष्ट काँग्रेस खोज्न काँग्रेसका वडादेखि केन्द्रीय महाधिवेशन सम्म सबै नेता कार्यकर्ताहरुले इमान्दार भएर खटनुपर्ने जिकिर गर्नुभयो । उँहाले डडेल्धुरा काँग्रेसका सबै नेता कार्यकर्ताहरु केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाका कार्यकर्ताहरु भएकाले कसैले पनि म आफुमात्रै देउवानिकट भएको भनेर दाबी गर्न नहुने बताउनु भयो ।