सरकार गैरसंसदीय खेलमा नलाग्ने : प्रवक्ता चौधरी

532
Shares

यमलाला भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले विश्वासको मत लिने बताउनु भएको छ । मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको र अवैधानिक रहेको आरोप लगाइ रहेकाले सरकारले विश्वासको मत लिएर वैधानिक बन्ने बताउनु भयो ।

मन्त्री चौधरीले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पनि प्रदेश सरकारलाई फरक नपर्ने बताउनु भयो। जसपाकी सांसद पुरर्मति ढेंगामगरलाई सत्ता पक्षले नलुकाएको दाबी गर्दै मन्त्री चौधरीले सरकार गैरसंसदीय खेलमा नलाग्ने बताउनु भयो ।
यसैबीच लुम्बिनी प्रदेश सरकारले बाल विवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा रणनीति अनुमोदन गरेको हो । प्रदेश सरकारका प्रवक्ता चौधरीले कानूनले बीस वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बाल विवाह मानी निषेध गरेका कारण यसको अन्त्यका लागि रणनीति स्वीकृत गरिएको जानकारी दिनु भयो । यो रणनीति कार्यान्वयनका लागि सबै पालिकासँग समन्वय गरिने उहाँको भनाइ रहेको छ ।

सन् २०३० सम्म बाल विवाहको अन्त्य गर्ने राष्ट्रिय लक्ष्य रहेको छ । यसैगरी बैठकले प्रदेश खेलकूद नियमावली, २०७८ स्वीकृत गरेको छ ।
प्रदेश खेलकूद विकास ऐन, २०७६ को दफा ३२ मा प्रदेश खेलकूद परिषद्ले नियम बनाउने अधिकार भएको र सोही बमोजिम मस्यौदा गरिएको प्रदेश खेलकूद विकास नियमावली स्वीकृतका लागि शिक्षा तथा सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको थियो ।

प्रदेश खेलकूद परिषद्लाई चलायमान बनाई लुम्बिनी प्रदेशको समग्र खेलकूद क्षेत्रलाई सुुव्यवस्थित एवम् मर्यादित बनाउन तथा प्रदेश खेलकूद विकास ऐन २०७६ को प्रभावकारी कार्यान्वयनका लागि नियमावली स्वीकृत गरिएको प्रवक्ता चौधरीले बताउनु भयो ।