जथाभावी मुलुक चिनाउने टेलिभिजनले माग्यो माफी



सोल, (एजेन्सी) ।

दक्षिण कोरियाले टोकियो ओलम्पिकको उद्घाटन समारोहका क्रममा आफ्नो सञ्चार माध्यमबाट मुलुकहरू चिनाउने क्रममा पिज्जा फर इटाली, ड्राकुल्ला फर रोमानिया एन्ड चेर्नोबिल फर युक्रेन शीर्षकसहितका तस्वीरहरू प्रदर्शन गरेकोमा दर्शकहरूको प्रतिक्रिया र विरोधपछि माफी मागेको छ । दर्शकहरूले यी दृश्य प्रसारणलाई ‘हस्तक्षेपकारी’ र ‘घिनलाग्दो’ भन्दै विरोध प्रतिक्रिया दिएपछि एमबीसी टेलिभिजन च्यानलले दर्शकसमक्ष क्षमायाचना गरेको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा एमबीसी च्यानलका प्रमुख कार्यकारिणी अधिकारी पार्क सुङ जायले सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘वास्तवमा टेलिभिजनले दर्शकहरूलाई तत्कालै मुलुकहरूलाई चिनून् भन्ने उद्देश्यले यो तरिका अपनाएको, तर यही काम ‘अक्षम्य गल्ती’ साबित भएको छ । एमबीसीले ओलम्पिकका मूल्य मान्यताहरू जस्तै मित्रता, ऐक्यबद्धता र सुसम्बन्धलाई क्षति पुर्‍याएकोमा माफी माग्दछु । म सबैसँग शिर झुकाएर गहिरो क्षमायाचना गर्दछु । साथै, भविष्यमा यस्तो कुनै गल्ती दोहोरिन नदिन हामी प्रयत्नशील रहनेछौं ।’

स्वतन्त्र पत्रकार राफाएल रसिदले ट्विटरमार्फत यस्तो अनौठो ढंगको बेलीविस्तारले जनस्तरमा अस्थिरतासमेत पैदा हुने चिन्ता व्यक्त गरेका छन् । सो टेलिभिजनले हाइटीका एथ्लेटहरू रंगशालामा देखिनासाथ स्क्रिन क्याप्सन ‘राष्ट्रपतिको हत्याका कारण राजनीतिक अस्थिरता छाइरहेको मुलुक’ प्रसारण गरेको थियो । त्यसैगरी, सिरियाली टोलीलाई इंगित गर्दै ‘१० वर्षदेखि गृहयुद्ध चलिरहेको मुलुक’ स्क्रिन स्लोगन प्रसारण गरेको थियो । ट्विटरमार्फत एक जना व्यक्तिले सो टेलिभिजनले गुगल सर्चमा देखिने कुनै सामान्य तस्वीरका आधारमा मुलुकको परिचय दिने गरेको दोष लगाएका छन् । यसले नर्वेलाई साल्मन माछाको टुक्रा र चाडलाई अफ्रिकाको अँध्यारो मुलुकको संज्ञा दिएर चिनाउन खोजेको थियो ।

विगतमा पनि एमबीसी च्यानल विवादमा पर्ने गरेको थियो । सन् २००८ को बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा पनि यस्तै उट्पट्याङ काम गरेका कारण यस टेलिभिजनलाई जरिवाना तिराइएको थियो । त्यतिवेला यसले जिम्बावेलाई ‘अत्यन्तै डरलाग्दो किसिमले मुद्रा अवमूल्यन हुने गरेको’ मुलुकका रूपमा चित्रित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्