माइक्रो बसको मनलाग्दी भाडा

882
Shares

भूपराज बस्याल, स्याङ्जा । 

पछिल्लो समय बढेको गाडीभाडा, लकडाउनलगायतका विभिन्न बहाना पारेर स्याङ्जाबाट काठमाडौं चल्ने माइक्रो बस (हाइस) ले अत्यधिक भाडा लिने गरेको पाइएको छ । कोभिडका कारण यात्रुुको चाप कम भइरहेको मौकालाई छोपेर थोरैमात्र चलेका यातायातले पहिलेको तुलनामा सयौंगुणा बढी भाडा लिने गरेका हुन् ।

कोभिडको दोस्रो भेरिएन्टका कारण भएको लकडाउन पूर्णरूपमा खुलीनसके पनी स्याङ्जाबाट काठमाडौंका लागि दैनिक यातायात चलेका छन् । गल्याङबाट काठमाडौंका लागि प्रतिव्यक्ति पुरानो भाडा ७ सय ७५ भए पनि यति बेला भने ५ हजारसम्म लिने गरेको पाइएको छ । गाडीमा भाडादर नटाँसिनु, कोभिडका कारण यातायात थोरैमात्र चल्नु र पछिल्लो समय बढेको भाडालगायतका बहानामा यातायात व्यवसायीले अत्यधिक भाडा लिने गरेको पाइएको हो । स्याङ्जादेखि काठमाडौंका लागि यातायात सञ्चालन गर्दै आएका यातायात समितिसमेत अत्यधिक भाडाको विषयमा मौन बस्दा यात्रुु मारमा परेका छन् । विषयमा कालीगण्डकी यातायात व्यावसायी समितिका अध्यक्ष भेमलाल अर्याललाई सोद्धा यातायात पूर्णरूपमा सञ्चालनमा नआएका र समितिको अनुमतिबिना यातायात सञ्चालन भइरहेको तर्क गर्नुभयो । ‘गाडी समितिमा आएर टिप्सुल काटेर चलेको भए गाडीमा भाडा लिस्ट टाँसिंएको छ कि छैन चेक गरिन्थ्यो तर लकडाउन पूर्णरूपमा खुली नसकेकाले अहिले आफूखुसी चलेका यातायातमा भाडालिस्ट चेकलगायतका अनुगमन गरेका छैनौं ।’ –उहाँले भन्नुभयो ।

यातायात व्यवसायीले अत्यधिक मात्रामा लिने गरेको भाडाको विषयमा अहिलेसम्म कसैले जानकारी नगराएको स्याङ्जाका प्रहरी प्रमुख होविन्द्र बोगटीको भनाइ छ । ‘अहिलेसम्म यस्तो उजुरी आएको थिएन अब तुरुन्तै प्रत्येक गाडीमा भाडादर चेक गर्छांै र कारबाही गर्छौं ।’ –उहाँ भन्नुहुन्छ ।