वेस्ट इन्डिजले अस्ट्रेलियालाई हरायो

238
Shares

लन्डन, (एजेन्सी) ।

वेस्ट इन्डिजले अस्ट्रेलियालाई दोस्रो खेलमा ४ विकेटले हराउँदै दुई टिमबीचको ३ खेलको ओडीआई सिरिज बराबरीमा पुर्‍याएको छ ।

निकोलास पूरण र जेसन होल्डरले शानदार ब्याटिङ गरेपछि वेस्टइन्डिजको जित संभव भएको हो । अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य वेस्टइन्डिजले ३८ ओभरमा ६ विकेट गुमाउँदै भेटाएको हो । वेस्टइन्डिजको जितमा होल्डर र पूरणले छैटौं विकेटका लागि ९३ रनको साझेदारी गरे । होल्डरले ६९ बलमा ५ चौका र १ छक्कासहित ५२ रन तथा पूरणले ५९ रनको योगदान दिए । नटआउट रहेका पूरणले ७५ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

त्यसो त वेस्टइन्डिजले कमजोर सुरुवात गरेको थियो । मिचेल स्टार्कले तेस्रो ओभरमा एभिन लेविसलाई १ रनमा एलबीडब्लु आउट गरे । लगत्तै अर्को ओभरमा स्टार्कले नै ड्यारेन ब्राभोलाई गोल्डेन डकमा पभेलियन फर्काएका थिए । ११ रनको लागि २ विकेट गुमेको अवस्थामा कमजोर बनेको वेस्टइन्डिजले तेस्रो विकेटको रुपमा जेसन महमूदलाई गुमायो । उनलाई एडम जाम्पाले आउट गर्दा वेस्ट इन्डिजको स्कोर ४७ थियो ।

यसपछि एस्टन टर्नरले शाइ होपलाई ३८ रनमा बोल्ड गरेको लगतै अर्को ओभरमा कीरान पोलार्ड २ रनमै पेभेलियन फर्किए । कप्तान पोलार्डको विकेट जाम्पाले लिएका थिए । यसबेला सम्म वेस्ट इन्डिजले ७५ रनको लागि पाँच विकेट गुमाइसकेको थियो । अस्टे«लियाले सिरिजमा २–० को अग्रता लिने तयारीमा थियो, तर पूरण र होल्डरले सानदार साझेदारी गर्दै वेस्ट इन्डिजलाई मीठो जित दिलाएका थिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले खराब सुरुवात गरेको थियो । तर, तल्लोक्रमका ब्याट्सम्यानले सम्हालिएर खेल्दा टोली राम्रो योगफलमा पुगेको थियो । पाहुना टिमले ब्रिजटाउनको मैदानमा ४७.१ ओभरमा अलआउट हुनुअघि १ सय ८७ रन जोडेको थियो । ओपनर बेन मक्डरमट शून्यमा र अर्का ओपनर ओपनर जोश फिलिपे १६ रन बनाएर आउट भएका थिए । अर्को ओभरमा मिचेल मार्श ८ रन जोड्दै होल्डरको शिकार भएपछि अष्ट्रेलिया ठूलो समस्यामा परेको थियो । जब कप्तान एलेक्स केरी १० रन जोड्दै आउट भएपछि अर्का ब्याटसम्यान मोसेस हेनरिकेस (४) र एस्टन टर्नर (१) पनि सस्तैमा पभेलियन फर्केका थिए । ६ ब्याटसम्यान गुमाउँदा अस्टे«लियाको स्कोर ४५ मा थियो ।

म्याथ्यु वाड र मिचेल स्टार्कले सातौं विकेटका लागि ५१ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलतर्फ अग्रसर गराएका थिए । स्टार्क १९ रन जोड्दै हेडन वाल्स जुनिअरको एलबीडब्लु धरापमा परे । वाड पनि ३६ रन जोड्दै जोसेफको बलमा क्याच आउट भए ।नवौं विकेटका लागि वेस एगर रजाम्पाले ५९ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई बचाएका थिए । एगरले ३६ बलमा ३ चौका र २ छक्कासहित ४१ रन जोडे । जाम्पाले ६२ बलमा ४ चौका प्रहार गर्दै ३६ रनको योगदान दिए । वेस्टइन्डिजका जोसेफ र होसेनले ३–३ तथा कटरेलले २ विकेट लिए । वाल्स र होल्डरको नाम १–१ विकेट रहयो । तेस्रो तथा अन्तिम वानडे सोमबार खेलिँदैछ ।