तेस्रो लहरको डर



निषेधाज्ञा खुकुलो भएसँगै कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तेस्रो लहर आउन सक्ने चेतावनी दिएपछि सर्वसाधारण झन् आत्तिएका छन् । मन्त्रालयले निषेधाज्ञा खुकुलो भएकाले पनि कोरोना भाइरसको संक्रमण झन् बढ्न सक्ने उल्लेख गरेको हो । हुन पनि हाल शहरको अवस्था हेर्ने हो भने नाजुक अवस्था देख्न सकिन्छ । शहरमा भीडभाड देख्दा कोरोना भाइरसको बारेमा कोही पनि सचेत छैनन् भन्ने भान हुन्छ । कोरोना भाइरस केही होइन, यसले केही गर्दैन भन्ने सोचाइ राखी भीडभाड गरिएको हो कि भन्ने देखिएको छ । भाइरसको संक्रमण दर घट्न सकेको छैन । यस्तो हुँदाहुँदै पनि जारी निषेधाज्ञा प्रायः हटाइएको छ । निषेधाज्ञा हटाइएपछि भाइरसको डर हुँदैन भन्ने सोचाइ आम मानिसमा छ कि भन्ने आँकलन गर्न सकिन्छ । हाल माक्सबिना नै गोप्य कुरा गर्नुपरेमा कानेखुसीसमेत गरेको देख्न थालिएको छ, दुरी कायम गर्ने कुरा त कता हो कता ।

तेस्रो लहर आएमा दोस्रो लहरभन्दा अवस्था भयावह हुने स्वयं मन्त्रालयका जानकारहरुले बताइरहेका छन् । दोस्रो लहरको मध्यतिर अक्सिजनको व्यापक अभाव भएको थियो । बेड, आईसीयू र भेन्टिलेटर संक्रमितले सजिलै पाउन सकेका थिएनन् । पहिलो र दोस्रो लहर गरी नेपालमा ७ लाख २४ हजार ४ सय ५५ व्यक्तिमा संक्रमण भएको छ भने ६ लाख ३६ हजार ४ सय २ जनाले स्वास्थ्यलाभ गरेका छन् । निको भएकाले पनि संक्रमणका बेला ज्यादै दुःख पाएका थिए । संक्रमणकै कारण ९ हजार ६ सय ५३ जनाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । शहरको भीडभाड देख्दा तेस्रो लहर आउन सक्नेमा धेरै हदसम्म जो–कोहीले अनुमान गर्न थालेका छन् । अहिले पनि संक्रमण दर १९ प्रतिशत रहेको आँकडाले देखाएको छ । यसैलाई मध्यनजर गरी मन्त्रालयले सबै स्वास्थ्य संघ–संस्थालाई अक्सिजन, शैय्यालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । तेस्रो लहरले बालबालिकालाई अझ बढी संक्रणम गर्ने सम्बन्धित पक्षबाट बताउँदै आएको पाइन्छ ।

बालबालिकालाई पनि दृष्टिगत गरी आईसीयू र भेन्टिलेटरको जोहो गर्न आग्रह गरिए पनि तयारी भने त्यस्तो भएको देखिँदैन ।
तेस्रो लहर आउन सक्ने भएकाले स्वास्थ्यसँग सम्बन्धित संघ–संस्थालाई तयारी अवस्थामा रहन मन्त्रालयले भनेको उल्लेख गरिएको छ, तर साँच्चै नै तेस्रो लहर आयो भने मन्त्रालयको सो आग्रहले पूर्णता पाउलाजस्तो देखिदँैन । पूर्णता पाउनका लागि त तालुकवाला निकायले मातहतको निकायको निरन्तर अनुगमन गर्नुपर्छ । आफूले दिएको निर्देशन, सुझावबमोजिमको तयारी भएको छ कि छैन भनेर रेखदेख गरिरहनुपर्छ । यदि भनेजस्तो छैन भने खबरदारी गरिरहनुपर्छ । कोरोना भाइरसको तेस्रो लहर आयो भने दोस्रो लहर जस्तो संक्रमितले दुःख पाउने अवस्था नहोस् भनेर सम्बन्धित पक्षले बेलैमा ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्