कर्णालीका यौनिक अल्पसंख्यकहरुको पिडा: पहिचान सहितको नागरिकता देउ


दीपेन्द्र शर्मा , सुर्खेत ।

कर्णालीका यौनिक अल्पसंख्यकहरुले पहिचानसहितको नागरिकता प्रदान गर्न सरकारसंग आग्रह गरेका छन ।कर्णाली प्रदेशका यौनिक अल्पसंख्यकहरुले आफनो पहिचानसहितको नागरिकता पाउन नसकेको भन्दै सरकारसंग नागरिकता दिलाइदिन आग्रह गरेका हुन ।

गृह मन्त्रालयले नागरिकताको विषयमा परिपत्र गर्दा पनि अहिलेसम्म आफ्नो पहिचानसहितको नागरिकता आफूहरुले पाउन नसेकेको ब्लुडाइमण्ड सोसाइटीका मनिषा ढकालले वताउनुभयो । आफनो पहिचान सहितको नागरिकता नहुदा समस्या भएको भन्दै ढकालले आगामी दिनमा यस्ता समस्या आउन नदिन सरकार गम्भीर वन्नुपर्नेमा जोड दिनुभयो । विश्वमहामारीको रुपमा आएको कोरोनाविरुद्धको खोपमा पनि सरकारले यौनिक अल्पसंख्यकहरुलाई प्राथमिकता दिनुपर्ने उहाँले वताउनुभयो ।घर परिवार र समाजको डरले यौनिक अल्पसंख्यकहरु खुल्न नसेकोले सरकारले सचेतना कार्यक्रम संचालन गर्नुपर्ने निलहिरा समाजकी भूमिका श्रेष्ठले वताउनुभयो ।

“घरपरिवारको डरले धेरैजना अझै पनि खुल्न सक्नु भएको छैन,पहिचानको समस्या छ ,त्यसका लागि सरकारले सचेतना कार्यक्रम फैलाउन जरुरी छ ” उहाँले भन्नुभयो । यस्ता खालका समस्या समधान गर्न सरकारले विद्यालय तहदेखिनै यौनिक अल्पसंख्यकहरुको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने श्रेष्ठको भनाई छ ।

यौनिक अल्पसंख्यकलाई आत्मनिर्भर बनाइने

कर्णालीका यौनिक अल्पसंख्यकहरुलाई आत्मानिर्भर वनाइने भएको छ ।कर्णाली प्रदेश सरकारले सामजिक विकास मन्त्रालयले यौनिक अल्पसंख्यकहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने भएको हो ।कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले यौनिक अल्पसंख्यकहरुलाई आत्मनिर्भर बनाइ उनिहरुको सुरक्षा र रोजगारमा प्रदेश सरकार गम्भीर रुपमा लाग्ने वताउनुभयो । कर्णालीमा भएका धेरै जसो यौनिक अल्पसंख्यकहरु खुल्न नसेको तथा खुलेकाहरु पनि असुरक्षित हुने गरेकोले उनिहरुको सुरक्षा र रोजगारमा कर्णाली प्रदेश सरकार लाग्ने मन्त्री वुढाक्षेत्रीले वताउनुभयो ।

यौनिक अल्पसंख्यकहरुको सुरक्षा र आत्मानिर्भरका लागी रोजगारमुलक कार्यक्रम संचालन गरिने मन्त्री वुढाले जानकारी दिनुभयो । यौनिक अल्पसंख्यकहरुको तथ्याङ्क नहुदा मन्त्रालयलाई असहज भएको भन्दै मन्त्री बुढाक्षेत्रीले कर्णाली प्रदेशभरी रहेका यौनिक अल्पसंख्यकहरु तथा सरोकारवालाहरुको सहयोगमा तथ्याङ्क संकलन गरिने पनि जानकारी दिनुभयो ।कर्णालीभरी यौनिक अल्पसंख्यकहरुको तथ्याङ्क भए सीप सिकाउन, क्षमता अनुसारको काम दिन र स्वरोजगार बनाउन सहज हुने भन्दै मन्त्री वुढाक्षेत्रीले तथ्याङ्क संकलन तथा उपलब्ध गराउने काममा सरोकारवाला संघ–संस्थाहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो ।