कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी


काठमाडौं, (नेस)  । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिएको छ । बिहीबार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउन सक्ने बताउनुभएको हो ।

मन्त्रालयले तेस्रो लहर आउन सक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शय््यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताउनुभयो । ‘सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौं’, उहाँले भन्नुभयो– ‘तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष (आईसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौं ।

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण छ । नेपालमा अहिलेसम्म ७ लाख २४ हजार ४ सय ५५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने ६ लाख ३६ हजार ४ सय २ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । ९ हजार ६ सय ३७ को संक्रमणबाट निधन भइसकेको छ ।