नेता प्रधान नभई नीति प्रधान हुनुपर्नेमा नेपालको जोड


भक्तपुर, (नेस)

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टीमा लोकतान्त्रिक चरित्र विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल पक्ष निकट युवासंघ नेपालले बिहीबार भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा आयोजना गरेको ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा उहाँले पार्टी नेतृत्वले गलत सोच राख्दा संसद्मा दुई तिहाइबाट सानो संख्यामा खुम्चिनुपरेको बताउनुभयो ।

पार्टी नेतृत्व आफ्नै पार्टीका सांसदको मत नपाउने अवस्थामा किन पुग्यो निर्मम समीक्षा जरुरी रहेको उहाँको भनाइ थियो ।अहंकारको घोडामा चढेको बादशाहले घोडाबाट ओर्लेपछि मात्र वास्तविकता थाहा पाउने बताउँदै पार्टी नेता प्रधान नभई नीति प्रधान हुनुपर्नेमा जोड दिनुभयो ।अहिले कम्युनिस्ट आन्दोलनमा कालो बादल मडारिइरहेको भन्दै उहाँले जनता साथमा नरहे पार्टीको अस्तित्व पनि सकिने बताउनुभयो । उहाँले चुनौैतीबाटै खारिएर कम्युनिस्ट राजनीति गर्नुपर्ने बताउँदै नेता अहंकारी भए कि भनेर जाँच्नुपर्ने दिन आएको बताउनुभयो ।

उहाँले नयाँ गठन भएको फोर्सलाई इमानदार भएर देश र जनता र पार्टीको हितमा काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै बोल्दा पनि ठाउँ राखेर बोल्न सुझाब दिनुभयो ।विगतमा धेरै पुतला जलाइएका कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको राजनीतिक उचाइ र व्यक्तित्व झन् चुलिएको भन्दै अहिले पुतला जलाइएका नेता नेपालको उचाइ झन् बढ्ने बताउनुभयो ।नेपालमा देशको एउटै मात्र सेना हुने भन्दै उहाँले साइबर सेना र आईटी आर्मी गठन गलत भएको बताउनुभयो ।