आम माफी भयो आउनुस्: ओली


काठमाडौं, (नेस) । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई आम माफी दिएर अगाडि बढ्न आफू तयार रहेको बताउनुभएको छ ।पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गर्दै भन्नुभयो– ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई आग्रह गर्दछु, हामी को कहाँ छौं, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौं, अब विवाद छाडौं, पार्टी एकताको कुरा गरौं ।

फरक प्रसंगमा अध्यक्ष ओलीले राजतन्त्र मान्ने वा नमान्ने सन्दर्भमा नेपाली कांग्रेसमा अझै विवाद रहेको टिप्पणीसमेत गर्नुभयो । उहाँले भन्नुभयो– ‘मित्र शक्तिहरूलाई एक्ल्याउन खोज्ने, अनेक थरी षड्यन्त्रकारी नन्दी भिरिङ्गीसँग सहकार्य गर्ने कांग्रेसको नीति २००७ साल देखिकै हो । आजको नीति पनि त्यही हो ।’ उहाँले लोकतन्त्र ल्याउन बलिदान गरेर आएको शक्तिसँग सहकार्य गर्न तयार नहुने, लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गर्ने कांग्रेसको नीति रहेको आरोप पनि लगाउनुभयो ।२००७ सालमा देश नै छाडेर हिँडिसकेका राजालाई नेपालमा फर्काउने काम कांग्रेसले नै गरेको आरोप लगाउँदै नेपालमा प्रजातन्त्र आएपछि राजा त्रिभुवन नै विजयी भएजस्तो भएको बताउनुभयो ।