नेपाल चिनाउन थर फेर्ने चित्रकार तथा प्रथम खलनायक नेपाली रहेनन्



आधुनिक चित्रकलाका अग्रणी चित्रकार तथा नेपाली फिल्मका प्रथम खलनायक उत्तम नेपालीको बुधबार निधन भएको छ। उनको बुधबार बिहान साढे ४ बजे उपचारका क्रममा काठमाडाैको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको हो।

लामो समयदेखि मुटुको रोगबाट पीडित उनमा श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अमेरिकामा बसोबास गर्दै आएका उनी पाँच वर्षअघि अमेरिकामा रहँदा हृदयाघातको शिकार भएका थिए। अमेरिकामा रहँदा श्वासप्रश्वासमा भएको समस्याका कारण अक्सिजनबिना बाँच्न नसक्ने अवस्थामा पुगेपछि आफ्नै भूमिमा मृत्युवरण गर्ने उनको इच्छाअनुसार उनलाई परिवारले तीन महिनाअघि नेपाल ल्याएको थियो। करिब २० दिनअघि फेरि श्वासप्रश्वासमा समस्या आएपछि चिरायु अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्र हुँदै शिक्षण अस्पतालमा उनको उपचार हुँदै आएको थियो।

१९९४ सालमा काठमाडौंको किलागलमा विष्णुप्रसाद कर्माचार्य र आमा रत्नादेवी कर्माचार्यको जेठा छोराका रूपमा जन्मिएका उत्तमले पिता व्यापारको सिलसिलामा भारतको लखनउ गएका बेला परम्परागत वास पेन्टिङ सिकेका थिए। बाल्यकालदेखि किशोर अवस्थासम्म लखनउमै बिताएका उनले लेखक ज्ञानेन्द्र विवशको प्रतिनिधि नेपाली कलाकार नामक पुस्तकमा आफू लखनउमा अध्ययनरत रहँदा आफूलाई नेपाली भनेर चिनाउनका लागि नामको पछाडि नेपाली उपनाम राख्न थालेको बताएका छन्। २०२३ सालदेखि अमूर्त शैलीमा चित्र कोर्दैै आएका उनले २०३३ सालमा नेपाली साहित्य जगतका चर्चित कविहरूको कविताका पंक्तिलाई क्यानभासमा उतारेका थिए। लेखनमा पनि रुचि राख्ने उनको २०१६ मा उत्तम नेपालीको कविता संग्रहसमेत प्रकाशित छ। उनले आधुनिक अमूर्त चित्रकलाको विकासमा ठूलो योगदान दिएका थिए। कला साहित्यमा समेत दख्खल राख्ने उनको मुख्य पेशा भने आधुनिक चित्रकला नै थियो।

उनी ललितकला प्रज्ञा प्रतिष्ठानको गठनका समय प्राज्ञसभा सदस्य छनोट सिफारिस समितिको सदस्यसमेत रहेका थिए। केही समय सूचना विभाग, हुलाक सेवा विभाग तथा रेडियो नेपालमा समेत जागिर खाएका उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा २०५२ देखि २०५६ सम्म प्राज्ञ परिषद्का सदस्यका रूपमा सक्रिय थिए।यसबाहेक उनी कुशल अभिनेता पनि थिए। उनले नेपाली कलाकारलाई लिएर नेपालमै बनेको पहिलो नेपाली फिल्म आमामा खलनायकका रूपमा अभिनय गरी पहिलो नेपाली खलनायकको परिचय पनि बनाएका छन्। उनले यसबाहेक मनको बाँध, परिवर्तनजस्ता फिल्ममा पनि विभिन्न भूमिकामा अभिनय गरेका थिए।

उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। काठमाडाै‍को बाँसबारीमा बसोवास गर्दै आएका उनकी श्रीमती मन्दिरा नेपालीसहित छोराहरू उद्धवप्रसाद नेपाली, सुदमप्रसाद नेपाली तथा छोरीहरू ममता र प्रकृति रहेका छन्।

प्रतिक्रिया दिनुहोस्