किसान श्रेष्ठसँग सति जान सक्दिन,आइटी आर्मी सल्लाह अनुसार नै बनेको हो: महेश बस्नेत


पुष्कर बुढाथोकी , भक्तपुर ।

नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको खेमा छोडेर बरिष्ठ नेता माधव नेपालतिर लागेका किसान श्रेष्ठसँग आफू सति जान नसक्ने बताउनुभएको छ ।

केही मिडियाले किसान श्रेष्ठले अध्यक्ष केपी शर्मा ओली पक्ष छाडेकाले अब महेश बस्नेतले पनि उक्त पक्ष छाड्न लागेको भनेर समाचार सम्प्रेषण गरेकोप्रति संकेत गर्दै बस्नेतले आज सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदा ओली खेमाका सांसद श्रेष्ठसँगै ८ जनाले फ्लोर क्रस गरेर देउवालाई मत दिएका थिए । श्रेष्ठका घनिष्ट मित्र बस्नेतले भने श्रेष्ठले खेमा परिवर्तन गर्दैमा आफू त्यता नलाग्ने बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ– ‘मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो, पौराणिककालको श्रीमान–श्रीमती जस्तो मृत्युमा सति जाने जस्तो सम्बन्ध होइन’, केही मिडिया किन रमाएका हुन् ?’उहाँले माओवादी छाडेर एमाले आएका नेता प्रभु साहसँग आफ्नो सम्बन्ध नराम्रो नभएको बाताउनुभएको छ । उहाँले ‘आइटी आर्मी’ र ‘साइबार सेना’ दुवै मिलेर काम गर्ने बताउनुभएको छ ।‘क. प्रभु शाहसंगको मेरो सम्बन्ध त्यस्तो खराब नि छैन, आइटी आर्मी गठनमा मेरो असहमति होस् । उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आइटी आर्मी, अनि साइबर सेनासँगै मिलेर दुबै संगठनमा काम गर्छन्न्’, उहाँले फेसबुकमा लेख्नुभएको छ ।