युनियन लाइफ इन्स्योरेन्समा हालसम्मकै धेरै आवेदन


काठमाडौं, नेस

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदनमा नयाँ रेकर्ड कायम भएको छ । सो कम्पनीको आईपीओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको हो । कम्पनीको आईपीओमा २१ लाख ७२ हजार ८६८ जना लगानीकर्ताले आवेदन दिएका छन् ।बिक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तामध्ये ५ दशमलव ९१ गुणा बढी आवेदन ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन परेको छ ।

यद्यपि, अन्तिम तथ्यांक योभन्दा केही बढ्न सक्नेछ । कम्पनीले ६४ करोड ५० लाखबराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेकोमध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि असार २८ गतेसम्म मात्र आईपीओ बिक्री खुला गरेको हो ।

यसअघि अघिल्लो दिन निष्कासन गरेको जीवन विकास लघुवित्तको आईपीओमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका थिए । यस आईपीओलाई इक्रा नेपालले आईआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।