कुस्मामा पाँच दिनदेखि खानेपानीको हाहाकार, १५ सय घर आकाशेपानीको भरमा

588
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको सदरमुकाम कुस्माबजारमा खानेपानीको आपूर्ति बन्द भएपछि पाँच दिनदेखि खानेपानीको हाहाकार भउको छ । वर्षासँगै आएको बाढीले मंगलबार राति कुस्मा नगरपालिका–८ चुवाको दोविल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि बजारमा खानेपानीको समस्या भएको हो ।

बाढी–पहिरोका कारण मुख्य लाइन बगेपछि कुस्मा नगरपालिका वडा नं. ४, ५, ६ र ७ का झन्डै १ हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशेपानीको भरमा रहेका छन् । खानेपानी आपूर्तिको जिम्मा लिएको शिवालय खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी परिरहेका कारण पाइप मर्मतका लागि समेत जान नसकिएको बताएको छ । संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले पानी परिरहेका कारण र खानेपानी बन्द भएकै ठाउँमा पहिरो लच्किरहेकाले मर्मत गर्न कठिनाइ भएको बताउँदै भन्नुभयो– ‘मुख्य प्रसारण लाइन नै बगाएको छ, पहिरोका कारण मर्मतमा जान सकेका छैनौ । पानी रोकिएपछि मात्रै मर्मतको काम हुन्छ ।’

खानेपानीको मुहान २२ किलोमिटर टाढा मोदी गाउँपालिका–३ र ४ को बीचमा पर्ने पातीखोलामा पर्छ । पातिखोला र कुस्मा नगरपालिकाकै क्यादी खोलाबाट खानेपानी आपूर्ति हुँदै आएको छ । अहिले दुवै ठाउँमा बाढी–पहिरोले समस्या भएको संस्थाका प्रबन्धक राजेन्द्र रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार कुस्मा नगरका १ हजार पाँच सय ६० परिवारका झन्डै २३ हजार जना अहिले खानेपानीको समस्यामा रहेका छन् ।

अहिले धारामा पानी नआएपछि र निरन्तर पानी परिरहेको समयमा बजारबासीले बलेनीमा पानी संकलन गरी प्रयोग गर्दै आएका छन् । बलेनीको पानी खानका लागि उपयोगी नभए पनि अन्य प्रयोजनका लागि संकलन गर्ने र खानेपानीका लागि घण्टौं समय खर्चेर जानुपर्ने अवस्था रहेको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बताउनुभयो । खानेपानीको आपूर्ति सहज नभएकै कारण अस्पताल, कारागारलगायतका ठाउँमा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो ।

सम्बन्धित संस्थालाई अनुरोध गरिएको र आवश्यक जनशक्ति चाहिएमा सुरक्षाकर्मीको प्रबन्धसमेत गर्ने गरी खानेपानी आपूर्तिका लागि तत्काल लाग्न अनुरोध गरिएको उहाँले बताउनुभयो । संस्थाले पानी पर्न रोकिएपछि तत्काल मर्मत गरेर आपूर्ति गर्ने र खानेपानी समस्या समाधान गर्ने जानकारी दिएको प्रजिअ खत्रीले बताउनुभयो ।