जोकोभिचले फाइनलमा बेरेटीनीसँग खेल्ने

238
Shares

लन्डन, (एजेन्सी) ।

डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले डेनिस सापोभालोभलाई हराएर विम्बल्डनको मेन्स सिंगल्स फाइनलमा इटालीका माटियो बेरेटीनीसँग खेल्ने तय गरेका छन् ।

विश्व नम्बर एक सर्बियाली खेलाडी जोकोभिचले क्यानाडाका सापोभालोभलाई ७–६, ७–५, ७–५ ले हराएका थिए । यसअघिको सेमिफाइनल खेलमा बेरेटीनीले पोल्यान्डका हुबर्ट हुरकाजलाई ६–३, ६–०, ६–७, ६–४ ले हराएर पहिलोपटक ग्रान्डस्लाम फाइनलमा स्थान बनाएका थिए । उनी विम्बल्डनको मेन्स सिंगल्स फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी बनेका छन् । बेरेटीनीले बताए–‘साँच्चिकै मसँग कुनै शब्दहरू छैनन्, मैले यसबारे सपनामा पनि सोचेको थिएन किनभने सपनाको लागि यो धेरै नै थियो ।

जोकोभिचले विम्बल्डनमा पाँचपटक उपाधि जितिसकेका छन् । उनले पछिल्लोपटक २०१८ र २०१९ मा जितेका थिए । २०२० मा कोरोनाको कारण प्रतियोगिता रद्द गरिएको थियो । यदि, आइतबार हुने फाइनल जितेमा जोकोभिचले रोजर फेडरर र राफाल नाडालको २० कीर्तिमानी ग्रान्डस्लाम उपाधिसंख्यासँग बराबरी गर्नेछन् । ३४ वर्षीय जोकोभिचले यो वर्षका ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपन र अस्टे«लियन ओपन पनि जितेका छन् ।

डेब्युमै उपाधि जित्ने अवसर

२५ वर्षीय बेरेटीनीको लागि भने विम्बल्डनमा डेब्युमै उपाधि जित्ने अवसर रहेको छ । यसअघि सन् १९८५ मा जर्मनीका बोरिस बेकरले डेब्युमै उपाधि जितेका थिए । यसपछि कोही पनि खेलाडीले डेब्युमा उपाधि जित्न सकेका छैनन् । बेरेटीनीले बेकरको उपलब्धिलाई दोहोर्‍याउन जोकोभिचलाई पन्छाउनुपर्छ । उनी कुनै पनि ग्रान्डस्लाम फाइनलमा पुग्ने इटालीका दोस्रो खेलाडी हुन् । यसअघि एड्रियानो पानाटा फ्रेन्च ओपन १९७६ को फाइनलमा पुगेका थिए ।