भर्चुअल माध्यमबाट नमुना संसद् सञ्चालन

154
Shares

वीरेन्द्र रिमाल, काठमाडौं ।

राष्ट्रिय युवा परिषद्ले प्रविधिको प्रयोग गरेर नै नमुना युवा संसद् सञ्चालन गरेको छ । देशभरिका युवालाई प्रविधि प्रयोग गरेर एकै ठाउँमा जम्मा गरेर युवा संसद् सञ्चालन गरेको हो ।

कोरोना भाइरसका कारणले भौतिकरूपमा उपस्थित हुन नसक्ने भएपछि परिषद्ले प्रविधिको प्रयोग गरी युवा संसद् सञ्चालन गरेको थियो । परिषद्ले सातवटै प्रदेशमा ‘नमुना युवा प्रदेशसभा’ भर्चुअल विधिबाट सञ्चालन गरेको छ । परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेलले भर्चुअल विधिबाट पनि युवा संसद्को अभ्यास सम्भव भएको बताउनुभयो ।

छनोट परेका १६ देखि २४ बर्ष उमेर समूहका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख, सचेतक, संसदीय दलका नेता, प्रदेश सांसदको भूमिकामा भर्चुअल विधिबाट युवा प्रदेशसभाको अभ्यास गराउन सम्भव भएको हो ।

परिषद्ले सातवटै प्रदेशमा छुट्टाछुट्टै जुमबाट प्रदेशसभा सञ्चालन गरेको छ । सातवटै प्रदेशमा भर्चुअल विधिबाट सभा सञ्चालन गर्नका लागि पाँच जनाको प्राविधिकको समूह रहेको छ । उक्त समूहले प्रत्येक प्रदेशमा एकवटा जुम आईडी उपलब्ध गराएर सभा सञ्चालन गरेको हो । भर्चुअलरूपमा सभा सञ्चालन गर्नका लागि सातवटा क्यामेराको प्रयोग गरिएको थियो ।

भौतिक उपस्थिति जस्तै भर्चुअलबाट प्रविधिको प्रयोग गरेर प्रदेशसभाको कार्यकक्ष, रोस्टम, कुर्ची, मर्यादापालकको पनि प्रदेशसभा सञ्चालन गर्दा देखाइको थियो । ‘कोरोना भाइरसका कारणले हामीले भर्चुअल विधिबाट गर्‍यौँ’, उहाँले भन्नुभयो– ‘हामीले पहिलो त सम्भव हुन्न भन्ने जस्तो लागेको थियो तर हामीले सभा राम्रोसँग सञ्चालन गर्‍यौँ ।’

भर्चुअल विधिबाट गरिएको सभा सञ्चालनको समापनमा सातवटै प्रदेशमा जुमलाई एकै ठाउँमा जोडिएको थियो । परिषद् कार्यकारी उपाध्यक्ष ढुंगेलले भर्चुलअ विधिबाट कम खर्च पनि कममा कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

‘यही भौतिक उपस्थितिमा भएको भए हाम्रो समूह सातवटै प्रदेशमा जानुपर्दथ्यो जसले गर्दा खर्च बढी हुने गर्दथ्यो’, उहाँले भन्नुभयो– ‘तर, भर्चुअलबाट युवा प्रदेशसभा सञ्चालन गर्दा खर्च पनि कम र कार्यक्रम पनि प्रभावकारी भएको छ ।’ परिषद्ले यही असार २८ गतेदेखि नै यसै गरी संघीय नमुना युवा संसद् सञ्चालन गर्नेछ ।

ढुंगेलले प्रशिक्षण दिएका युवाले नमुना प्रदेशसभा सञ्चालन गरेजस्तै सरकारले कोरोना भाइरसको समयमा व्यवस्थापिका संसद् चलाउन सकिने धारणा राख्नुभयो । ‘दुई दिन तालिम लिएका १६ देखि २४ वर्ष उमेर समूहका युवाले नमुना युवा प्रदेशसभा सञ्चालन गर्नुभयो’, उहाँले भन्नुभयो– ‘नमुना युवा प्रदेशसभाजस्तै संसदीय अभ्यास गरेका सांसदबाट कोरोना भाइरसका बेला भर्चुअल विधिबाट नै प्रतिनिधिसभा र राष्ट्रिय सभा सञ्चालन गर्न सकिन्छ ।’

परिषद्ले आज आइतबारदेखि नै दुई दिनसम्म भर्चुअल विधिबाट राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन आयोजना गर्दै छ । सम्मेलनमा ४ सय जनाको उपस्थित हुनेछ ।

यसअघि परिषद् गत वर्ष अन्तर्राष्ट्रिय युवा दिवस भर्चुअल विधिबाट भएको थियो । उक्त कार्यक्रममा श्रीलंका, भारत र बंगलादेशमा मन्त्री र सचिव पनि सहभागी हुुनुभएको थियो ।