मान्छे मारेर भागेका चालक एक महिनापछि पक्राउ

17.8k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

अरनिको राजमार्गको बनेपा सडक खण्डमा जेठ २४ गते विहान ४ बजे गाडीले ठक्कर दिएर फरार भएका चालक र सवारी साधनलाई प्रहरीले एक महिना पछि नियन्त्रणमा लिएको छ । ठक्करका कारण एकजनाको निधन भएको थियो भने एक जना गम्भिर घाईते हुनु भएको थियो । एक महिनाको अथक प्रयास र गहिरो अनुसन्धान पछि सवारी साधन र चालक पक्राउ गर्न प्रहरी सफल भएको हो ।

बनेपा नगरपालिका वडा नम्वर ७ स्थित पुरानो तरकारी बजार अगाडी अरनिको राजमार्ग सडक खण्डमा साँगाबाट धुलिखेल तर्फ जाँदै गरेको सवारी र सवारी चालक एकिन नभएको पिकअप जस्तो देखिने सवारी साधनले तरकारी ब्यवसाय गर्दै आएका पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएका ७१ बर्षिय नन्दकेशर तिमल्सिना र झापा जिल्ला लखनपुर दमक गाउँपालिका वडा नम्वर ८ घर भई बनेपा नगरपालिका वडा नम्वर ५ बस्ने ३० बर्षिया सविना बानिँया राईलाई ठक्कर दिएर फरार भएको थियो ।

ठक्करका कारण नन्दकेशरको उपचारको क्रममा धुलिखेल अस्पतालमा सोहि दिन साँझ निधन भएको थियो भने बानियाँको उपचार पछि असार १८ गते मात्रै डिस्चार्ज हुनु भएको छ । उपचारका लागि रकम अभाव भए पछि प्रहरीको जमानीमा अस्पतालले उपचार गराएको थियो । झण्डै ५ लाख रुपैया भन्दा धेरै उपचारमा खर्च भएको छ । प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले प्रहरीले एक महिनामा घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको बताउनु भयो ।

‘अपराध गरेर फरार भएको ब्यक्ति प्रहरीबाट छिपेर बस्न सक्दैन भन्ने सन्देश गएको छ’–एसपी भुपेन्द्र खत्रीले भन्नुभयो–‘निरन्तरको अनुसन्धानबाट घटना गराई फरार ब्यक्ति पक्राउ परेका छन् ।’प्रहरीले रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्वर १ बस्ने ३९ बर्षिय दोर्जे शेर्पाले बानेश्वर बस्ने चन्द्र लामाको नाममा रहेको ना ४ च ४०६९ नम्वरको गाडी नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

घटना के हो ?

निषेधाज्ञाका कारण दिउसो भन्दा रातिको समयमा निर्माणका लागि विशेष ब्यवस्था गरी सवारी साधन चल्ने गरी सूचना जारी भएको थियो । सधै झै तरकारी ब्यवसाय गर्नका लागि तिमल्सिना र बानिँया तरकारी बजार आउनु भएको थियो । तरकारी लिएर फर्कने क्रममा बाटोको छेउमै उक्त सवारी साधनले ठक्कर दिएको थियो । ठक्कर दिए लगत्तै सवारी साधन फरार भयो । घाईतेद्धयलाई उद्धार गर्ने कोहि भएन ।

तत्कालै घटनास्थल आईपुगेको टिपर र मोटरसाईकलले समेत बेवास्ता गरेको सिसिटिभी क्यामेरामा देखिन्छ । ठक्कर दिने सवारी साधन समाउने वा ठक्कर दिएपछि ब्यक्तिहरुलाई उद्धार गरी उपचारका लागि लैजाने काम समेत नगरी सवारी साधन धुलिखेल तर्फ दौडिएको छ । केहि ब्यक्तिहरुले मानविय संवेदना समेत नराखी उनिहरुले विक्री गर्न लैजान लागेको तरकारी टिपेर लगेका छन् ।

तर सडकमा छटपटाईरहेका घाईतेलाई उठाउने तर्फ कसैले चासो दिदैनन । केहि समय पछि प्रहरीले दुवैजनालाई उद्धार गरी अस्पताल पठाए लगत्तै सवारी साधनको खोजी कार्य जारी हुन्छ तर सवारी साधन पत्ता लाग्न सक्दैन ।
ईलाका प्रहरी कार्यालय बनेपा, जिल्ला प्रहरी कार्यालय र मातहतका सबै युनिटहरुमा खबर भए पनि शुरुमा टिपरले ठक्कर दिएको आशंका हुन्छ ।

पछि सिसिक्यामेराको फुटेजमा पिकअप भ्यान, पछाडी ड्रम राखेको देखे पछि त्यहि सवारीको खोजी हुन्छ । पाँचखालसम्म पुगेको देखिन्छ सवारी साधन नम्वर खुल्न सक्दैन । सवारी साधनको नम्वर नदेखिएकै कारण प्रहरीलाई हम्मेहम्मे पर्छ । प्रहरीले अनुसन्धानका क्रममा १६ वटा सवारी साधन र चालकहरुलाई नियन्त्रणमा लिएर सोधपुक्ष गरिसक्दा समेत प्रहरीले अनुसन्धान टुङ्गयाउन सक्दैन ।

उपत्यका, काभ्रे लगायतका विभिन्न जिल्लाहरुका प्रहरी तथा अन्य ब्यक्तिहरुको सहयोगमा प्रहरी निरन्तर अनुसन्धानमा लागिरहेको हुन्छ । डिएस्पी हरि खतिवडाको कमाण्डमा प्रहरी टोली सक्रिय भए पनि घटना नजिक पुग्न सक्दैन । यता पीडितका आफन्त, अस्पतालमा उपचारार्थ विरामीका कारण प्रहरीलाई दबाब परिरहेको हुन्छ ।

प्रहरीले घटनामा संलग्न सवारी साधन र ब्यक्तिको पहिचानका लागि कल डिटेल्स, सिसिटिभी लगायतका अन्य प्रविधिहरुको प्रयोग गरेको एसपी भुपेन्द्र खत्रीले बताउनु भयो । प्रहरीले यातायात ब्यवस्था कार्यालय, सवारी साधन वितरक कम्पनी, ग्यारेज, रिकन्डिसन समेत अनुसन्धान गरेको थियो ।

कसरी पक्राउ परे ?

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्वर १ बस्ने ३९ बर्षिय दोर्जे शेर्पाले बानेश्वर बस्ने चन्द्र लामाको नाममा रहेको ना ४ च ४०६९ नम्वरको सवारी साधन भाडामा लिएर चलाउँदै आउनु भएको थियो । घटना भएको केहि दिन अघि रामेछापबाट वडा कार्यालयको पास लिएर शेर्पाले काठमाडौमा केहि ब्यक्तिहरु पु¥याई हाईड्रोपावरका लागि ड्रममा तेल बोकेर जाने क्रममा काठमाडौबाट रामेछाप जान लागेकी उनकै भतिजी बनेपाको पुलबजारमा पिसाव फेर्ने क्रममा हराईन ।

आधा घण्टा कुर्दा समेत नआए पछि उनले आफु काठमाडौ फर्कने तपाई घर जानु भए हुन्छ भने पछि दोर्जे शेर्पा फोनमा कुरा गर्दै रिसले गाडी चलाउँदै आउने क्रममा तरकारी बजारमा बाटो काट्ने क्रममा दुई जना ब्यक्तिलाई ठक्कर दिनु भएको थियो । आफैले ठक्कर दिएर पनि कसैले देख्ने हैन किन लफडामा पर्नु भनेर उहाँ भाग्नु भयो । अन्य कसैले पनि उहाँलाई समाउने प्रयास गरेन । रामेछाप जानु पर्ने दोर्जे भकुण्डे नगएर पाँचखाल जानु भएको थियो ।

पाँचखाल हुँदै केहि घण्टा बाटोमै बसेर उहाँ त्यहि दिन रामेछाप नगई काठमाडौ जानु भयो । केहि दिन काठमाडौ बसे पछि रामेछाप पुग्नु भयो । रामेछाप गएर फेरी केहि दिन काठमाडौ गएर रामेछाप फर्किएको केहि समय पछि प्रहरीले अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो ।

शुरुमा उहाँले आफु राजधानी नै नगएको बताउँदै छल्न खोजे पनि प्रहरीले कल डिटेल्स, गाडीको नम्वर र च्यासिस नम्वर समेत पत्ता लगाई केरकार गरे पछि घटना स्विकार गरेका थिए । प्रहरीको गहिरो अनुसन्धानका कारण एक महिना पछि उहाँ पक्राउ पर्नु भएको थियो । प्रहरीले सवारी ज्यान मुद्दामा संहिता कानुनको १६३(१) अनुसार मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ ।

मानवता हराउँदै छ

दुर्घटना गराएर ब्यक्ति फरार हुनु, घटना देखेर पनि वेवास्ता गर्नु, नजिकै आएका टिपर र मोटरसाईकल सरासर हिडिरहनु, ब्यक्तिहरु घाईते उठाउन भन्दा तरकारी टिप्न लाग्नु जस्ता मानविय संवेदना विपरितका क्षणहरुले समाज कता जाँदै छ भन्ने दर्शाउछ । अझ घटना गराएर लुकिछिपी निर्धक्क हिड्न सक्ने अपराधजन्य कसुरलाई संवेदनाहिनताको कोणबाट हेर्न सकिन्छ ।

अस्पतालले समेत पैसा नभएकै कारण उपचारमा आनाकानी गर्नुले पनि गरिव तथा संकटमा परेका ब्यक्तिहरुको हकमा राज्यले अलग्गै कोष निर्माण गरी उपचारका लागि पहल गर्नु पर्ने देखिन्छ । बनेपाको उक्त घटनाले धेरै कुरा सिकाएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताउनु भयो ।