दोस्रो डोजको विकल्प खोज्दै प्रदेश सरकार

280
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोभिडविरुद्ध एक डोज खोप लगाएर अर्काे डोज लगाउने व्यवस्थाका लागि विभिन्न विकल्प खोजिरहेको र संघीय सरकारसँग समन्वय गरिरहेको बताउनुभएको छ ।
बागमती प्रदेशमा खोप कसरी व्यवस्थापन गर्ने भनेर लागिपरेको बताउँदै उहाँले भन्नुभयो–आगामी आर्थिक वर्षमा खोप व्यवस्थापनका लागि सरकारले २ अर्ब छुट्याएको छ । प्रदेश सरकारले खोप खरिद गर्न अनुमति पाए त्यसको तयारी छौं । यदि अनुमति पाएनौं भने संघीय सरकारस“ग सहकार्य गर्नेछौं ।

उहाँले कोभिड नियन्त्रणका लागि प्रदेशमातहत स्वास्थ्य संस्थाहरुमा २० करोड निकासा भएर काम भइरहेको जानकारी दिनुभयो । प्रदेशमातहत स्वास्थ्य संस्थाहरुमा कोभिडका कारण अभाव रहेको अक्सिजन प्लान्टलगायतका अन्य स्वास्थ्य उपकरण तथा सेवा सुचारु गरिएको भन्दै उहाँले मन्त्रालयले महिला तथा बालबालिका र सामाजिक समावेशीको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम ल्याएको दाबी गर्नुभयो । मन्त्री बस्नेतले ठोस योजना निर्माण गरेर महामारी नियन्त्रण तथा उपचारलाई निरन्तरता दिँदै खोप कार्यक्रमलाई सशक्त पारिने बताउनुभयो ।

‘सबैको लक्ष्य खोप भएकाले सरकारले प्रदेशभरका नागरिकलाई खोप लगाउन दुई अर्ब बजेट विनियोजन गरेको छ,’ उहाँले भन्नुभयो । मन्त्री बस्नेतले हराएको खोपको खोजी भइरहेको बताउनुभयो । असार पहिलो साता मकवानपुरमा ४ सय १ भाइल कोरोनाविरुद्ध कोभिसिल्ड खोप गायब भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्यांकमा मकवानपुरका लागि प्राप्त भएको ३ हजार ३ सय ३० भाइल खोपमध्ये ४ सय १ भाइल खोप हराएको हो । १ भाइल बराबर १० डोज खोप हुन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले स्थानीय पालिकालाई पठाउको खोपको तथ्यांक लुकाउँदा तथ्यांकमा फरक परेको जनाएको छ । केही खोप भण्डारणमा समस्या हुँदा नष्ट भएको र केही खोप खसेर फुटेकाले तथ्यांक फरक परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका एक अधिकारीले बताए । ‘पालिकाहरुबाट खोप लगाएकाको पूरा विवरण प्राप्त नभएको, केही खोप खसेर फुटेको र भण्डारण गर्न समस्या हुँदा खोप नष्ट भएको हुनसक्छ,’ ती अधिकारीले भने ।

कोरोनाविरुद्ध भेरोसेल खोप हेटौंडामा आइपुगेको छ । खोप प्रदेशको चिस्यान केन्द्रमा राखिएको हो । बागमतीको सामाजिक विकास मन्त्रालयअन्तर्गत् स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा खोप आइपुगेको हो । सरकारले चीनबाट खरिद गरेको ४० लाख भेरोसेल खोपमध्ये शुक्रबार ८ लाख मात्रा नेपाल ल्याइएको थियो । उक्त खोप हेटौंडामा स्थानाभावका कारण केन्द्रको पथलैयामा कुलररुममा राखिएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका प्रमुख बसन्त अधिकारीले जानकारी दिनुभयो ।

चिसोमा राख्न हेटौंडामा ठाउँ अभाव भएपछि केन्द्रले पथलैयामा राखेको र आवश्यकतानुसार प्रदेशका जिल्लामा बितरण गरिने उहाँले बताउनुभयो । हालसम्म बागमती प्रदेशमा ५ लाख ६० हजार ७८ जनाले खोप लगाइसकेका छन् । बाँकी खोप साउन पहिलो सातासम्म ढुवानी गरिसक्ने सरकारी योजना छ । भारत सरकारले १० लाख कोभिसिल्ड खोप अनुदान दिएपछि नेपालमा सुरु भएको खोप अभियानमा शुक्रबारसम्म देशभर ३५ लाख ७६ हजार ३ सय १५ जनाले खोप लगाइसकेका छन् । यसमध्ये ९ लाख ६४ हजार ५ सय ८ जनाले दोस्रो मात्रा लगाइसकेका छन् ।

बागमतीमा ५ लाख ६० हजार ७८ ले मात्र दोस्रो मात्रा खोप लगाएका छन् । प्रदेशमातहत अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने काम भइरहेको जानकारी दि“दै मन्त्री बस्नेतले प्रदेशमा स्वास्थ्यलाई ध्यानमा राखेर काम गरिएको बताउनुभयो । मन्त्री सरस्वती बस्नेतले तेस्रो चरणको कोरोना संक्रमण आउनसक्ने भएकाले प्रदेश सरकार तयारी हालतमा रहेको बताउनुभयो ।

कोरोनाको तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुनसक्ने भएकाले प्रदेशका अस्पताललाई २० प्रतिशत् बेड छुट्याएर राख्न उहाँले निर्देशन दिनुभएको छ । मन्त्रालयको आयोजनामा हेटौंडामा गरिएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले भन्नुभयो–पहिलो चरणको कोरोना महामारीमा सबभन्दा धेरै बृद्ध प्रभावित भए । दोस्रो चरणमा युवालाई असर गरेको छ । तेस्रो चरणको कोरोना महामारीले बालबालिका प्रभावित हुने भएकाले यसका लागि सरकार सचेत अवस्थामा छ ।

उहाँले धादिङ अस्पतालको भवन, त्रिशुली अस्पताल नुवाकोटको आवासगृह निर्माण गरिएको, प्रदेशमातहत जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल अस्पताल, त्रिशुली अस्पताल, भक्तपुर अस्पताल, हेटौंडा अस्पताल, सिन्धुली अस्पताल र चरीकोट अस्पतालबाट नियमितरुपमा पीसीआर परीक्षणसेवा सञ्चालन भइरहेको, आठवटै अस्पतालबाट कोभिडको उपचारका लागि आइसोलेसन तथा त्रिशुली, भक्तपुर, हेटौंडा, धादिङ र सिन्धुली अस्पतालबाट आईसीयु तथा एचडीयु सेवाप्रवाह भइरहेको जानकारी दिनुभयो । सिन्धुली अस्पताल, हेटौंडा अस्पताल, धादिङ अस्पताल र त्रिशुली अस्पतालमा अक्सिजन प्लान्ट जडान भएर सञ्चालनमा रहेका तथा बा“की जिल्लामा जडान गर्न खरिदको अन्तिम चरणमा रहेको उहाँको भनाइ थियो ।