कांग्रेसमा क्रियाशील सदस्यताको किचलो



नन्दगोपाल क्षेत्री, काठमाडौं ।

नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर विवाद चर्किएको छ । पार्टीको महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्व चयनमा प्रभाव पार्ने क्रियाशील सदस्यता वितरणको विषयमा विवाद बढेको हो । पार्टी सभापति शेरबहादुर देउवाले नवप्रवेशीका नाममा एकलौटी ढंगले आफ्नो पक्षमा बहुमत हुने गरी क्रियाशील सदस्यता वितरण गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आरोप लगाएको छ । पार्टीले क्रियाशील सदस्यता छानबिन समिति गठन गरेर काम गरिरहे पनि सभापति देउवाले महाधिवेशनलाई नै प्रभाव पार्ने गरी नवप्रवेशीको नाममा मनलाग्दी ढंगले क्रियाशील सदस्ता वितरण गरेको पौडेल पक्षले निष्कर्ष निकालेको छ ।

बिहीबार काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको पौडेल समूहको बैठकले नवप्रवेशीका नाममा संस्थापन पक्षले हजारौं व्यक्तिलाई क्रियाशील सदस्यता बाँडिएको निष्कर्ष निकालेको छ । नेता शशांक कोरालाले छलफलमा पार्टीको क्रियाशील सदस्यताको विषय कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल भएको बताउँदै क्रियाशील सदस्य टुंगो नलगाइकन महाधिवेशनमा जान नसकिने बताउनुभयो ।

क्रियाशील सदस्यता वितरण विधिसम्मत नभएको भन्दै विभिन्न जिल्लाबाट उजुरीहरू आएको उल्लेख गर्दै उहाँले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशनप्रति आशंका पैदा हुने बताउनुभयो । आफूहरुले क्रियाशील सदस्यताको विषय छिटो टुंग्याउन भनेर भरमग्दुर प्रयास गरिरहेको कोइरालले बताउनुभयो ।

पौडेल पक्षले विधि र प्रक्रिया पूरा नगरी तोकिएको ढाँचामा नआएका क्रियाशील सदस्यहरुलाई १४औं महाधिवेशन सहभागी नगराई १५औं महाधिवेशनमा मात्र मान्यता दिनुपर्ने प्रस्ताव पौडेल पक्षले अगाडि सारेको छ । नेता राजन केसीले वडा नगर/गाउँ, क्षेत्र, जिल्ला हुँदै प्रदेशमार्फत आउनुपर्ने विधिलाई पालना गरेर मात्र क्रियाशील सदस्यता वितरण गर्ने प्रावधानलाई पालना गरेर मात्र अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिको सिफारिसमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका केन्द्रीय नेताहरुलाई क्रियाशील सदस्यता दिने निर्णय भएको थियो । समायोजनका नाममा आएका क्रियाशील सदस्यतालाई लिएर छानबिन समितिमा धेरैको उजुरी परेपछि पौडेलले पार्टी समायोजन समिति र क्रियाशील सदस्यता छानबिन समितिमा रहेका आफूनिकट नेताहरुसँग छलफल गर्नुभएको छ । बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत, शेखर कोइराला, मीनेन्द्र रिजाललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्