इंग्ल्यान्डलाई ५५ वर्षपछि फाइनलमा

308
Shares

लन्डन, (एजेन्सी)

इंग्ल्यान्डको पुरुष राष्ट्रिय फुटबल टिमले एक फाइनलबाट अर्को फाइनल यात्रा गर्न ५५ वर्ष लगाएको छ । इंग्लिस टिमले यति लामो यात्रामा करिब ३ सय २ खेल खेलेका छन् । पछिल्लोपटक इंग्लिस टिमले १९६६ को विश्वकप खेलेको थियो, जुन संस्करणको उपाधि इंग्ल्यान्डले जितेको थियो । यसपछि इंग्ल्यान्ड जारी युरोकप २०२० को प्रतियोगितामा फाइनल पुगेको छ ।

विश्वकप १९६६ को उपाधि जितेपछि इंग्ल्यान्ड यूईएफा र फिफाका प्रतियोगिताअन्तर्गत १४ पटक नकआउट चरणसम्म पुगेको छ । १९७० विश्वकपमा इंग्ल्यान्डको टिम गर्ड मुलरको टिम जर्मनीसँग पराजित भएको थियो । १९८६ मा डिएगो म्याराडोनाको भगवानको हातले इंग्ल्यान्डलाई सो विश्वकपमा हारको सामना गर्नुपरेको थियो । यस्तै १९९० को विश्वकप र १९९६ को युरोकपमा इंग्ल्यान्ड एउटै टिम जर्मनीसँग हारेको थियो । दुवैपटक सेमिफाइनलमा हारेको थियो ।

इंग्ल्यान्डले १९६६ विश्वकप ट्रफी उठाएयता यूईएफए र फिफाका प्रतियोगिता गरी ३ सय २ खेल खेलेको छ । यति खेलको समयमा परिणत गर्दा २७ हजार ५ सय ७० मिनेट हुन आउँछ । यति लामो मिनेटपछि इंग्ल्यान्डले कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । २०२० मा इंग्ल्यान्डले १४ खेल खेलेकोमा १२ खेलमा जित हासिल गरेको छ भने ४७ गोल गरेको छ ।