पाल्पा पहिरो अपडेट : दुइको मृत्य, पाँच घर वगे सात घाइते



कविराज नेपाल, पाल्पा ।

पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ५ घर बगाउँदा दुइ जनाको मृत्यु भएको छ । पहिरोले दुई घर पुरिएको र तीन घर बगाएको प्रहरीले जनाएको छ । पहिरोमा परी सात जना घाइते भएका छन । तिनाउ गाउपालिका ५ चोबिस किलोको ढुंगाखानी भन्ने ठाउमा विहीवार विहानै पहिरो गएको थियो । पहिरोमा ४५ वर्षीय वीरबहादुर गुरुङको पुरिएर मृत्यु भएको हो । पहिरोमा स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएकोमा दिउसो उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार वीरबहादुरको घरमै च्यापिएर मृत्यु भएको हो । बेपत्ता बालकको खोजी गर्दा विद्यालय परिसरमा पहिरोले च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी त्वातीले वताउनुभयो । सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोला नजिकै माथिबाट ठूल्ठूला ढुंगासहितको आई घरहरु पुरिएका र वगाएका थिए जसमा सात जना घाइते भएका हुन् । पहिरोमा परेका ७ जनाकोे घाइते अवस्थामा प्रहरी र स्थानीयवासीले उद्दार गरेको प्रहरीले जनाएको छ ।

स्थानीय ७५ वर्षीया सुन्दरी गुरुङ ,२६ वर्षीय रमेश परियार, २४ वर्षीया पुजा परियार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिल बहादुर राना र दिपेश पुन घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सुन्दरीको अवस्था गम्भिर रहेको र अन्यको सामान्य नै रहेको प्रहरी उपरिक्षक त्वातीले जानकारी दिनुभयो ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । पहिरोका कारण विस्थापितहरुलाई स्थानीय बालकल्याणी आधारभूत विद्यालय मस्याममा खाना, बस्नको व्यवस्था मिलाइएको वडाध्यक्ष बलबहादुर दर्लामीले बताउनुभयो । पहिरोले बिरबहादुर गुरुङ, रमेश परियार, नरबहादुर राना, हरी दर्लामी र बलबहादुर पुनको घर पुरिएको छ । घरमाथिबाट गिट्टी र ठूला ढुङ्गा सहितको पहिरोले घर बगाएको वडाध्यक्ष बलबहादुर दर्लामीले वताउनु भयो ।

घटनास्थलसम्म पुग्ने बाटो अवरुद्ध भएकाले प्रहरीको टोली पुग्न कठिनाइ भएकाले प्रहरीको टोली पैदलै घटनास्थलसम्म पुगेको र उद्धारमा समेत समय लागेको प्रहरीले जनाएको छ ।

विभिन्न सडक अवरुद्ध 

यसैबीच विहीबार बिहान अविरल वर्षाको कारण जिल्लाका विभिन्न स्थानमा पहिरोले सडक समेत अवरुद्ध बनेका छन् । पहिरोको कारण सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड बन्द भएको छ । सिद्धबावा, झुम्सा, पानी मिल, हिउँदे खोला, कालीमाटी क्षेत्र, लामेदमारमा पहिरो खसी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गको तानसेन–पोखरा सडक खण्डको राम्दी तथा शेरा क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध भएको छ ।

लगातार पानी परिरहेकाले सडक खुलाउने प्रयास जारी रहेपनि कठिन भएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।त्यसै गरी बुधवार रातीदेखि लगातार परेको वर्षातका कारण पाल्पाको आर्यभन्ज्याङ रामपुर सडक खण्ड अबरुद्ध भएको छ । जिल्लाको रामपुर ४ गिजिंगडाँडामा पहिरोे जाँदा सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो हटाउनको लागि स्थानीय सरकार, सडक डिभिजन कार्यालयसँग समन्वय भइरहको तर पानी लगातार परिरहेका कारण पनि सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । त्यसै गरी विभिन्न ठाउका ग्रामीण सडकहरु पनि ठाउठाउमा पुरिएको कतै सडकै वगाएको र यातायात संचालनमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्