एकैदिन समातियो १७९ किलो गाँजा



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा प्रहरीले एकैदिन फरक सवारीसाधनबाट १७९ किलो लागुऔषध गाँजासहित बोलेरो पिकअप गाडीहरु नियन्त्रणमा लिएको छ । बिहीबार विहान करिब पौने ३ बजे हेटाैडा–५ स्थित रिलायन्स बोर्डिङ स्कुलअगाडि प्रदेश ३–०१–०२२ च ७२३७ नम्बर बोलेरो पिकअप गाडी र चितवनबाट बारातर्फ जाँदै गरेको ना. ४ च ५०१५ नम्बर बोलेरो पिकअप गाडीबाट उक्त परिमाणमा गाँजा बरामद गरिएको हो ।

७२३७ नम्बर बोलेरो पिकअप गाडीले वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रनानिको कमाण्डमा खटिएको मोबाइल गाडी देख्नासाथ गाडी रोकी चालक फरार भएका थिए । गाडी चेक गर्ने क्रममा गाडीमा लुकाइल्याएको १ सय २० किलो ९ सय ग्राम लागुऔषध गाँजासहित गाडीलाई नियन्त्रणमा लिइए पनि चालक फरार भएका छन् ।

प्रहरी चौकी रातोमाटेबाट प्रसनिको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौंडा–१५, पिपलचौतारामा पूर्वपश्चिम सडकखण्डस्थित चितवनबाट बारातर्फ जाँदै गरेको ५०१५ नम्बर बोलेरो पिकअप रोकी चेक गर्ने क्रममा गाडीको पछाडि भागमा फल्सबटम बनाएर लुकाइ ल्याएको ५७ किलो ९ सय ग्राम लागुऔषध गाँजा फेला पारेको थियो । गाडीचालक चितवनको राप्ती नपा वडा–६ बस्ने वर्ष २६ का सञ्जय चौधरी र सोही गाडीका यात्री सोही ठाउँ बस्ने वर्ष ४८ का लालजी साहलाई लागुऔषध गाँजा, बोलेरो पिकअप गाडीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्