दार्चुलामा पहिरोमा परी ३ जनाको मृत्यु, एक घाइते

210
Shares

किरन धामी, दार्चुला ।

वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका—३ चौखुट्टे बस्ने ७२ वर्षीय गेउडी ठगुन्ना, उनकी ३ महिने नातिनी मन्जरी ठगुन्ना र सोही ठाउँ बस्ने वर्ष २९ का लक्ष्मण सिंह सितोली रहेको दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । गएराति भएको अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोमा पुरिएर एकै परिवारका दुई गरी तीन जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

उक्त पहिरोमा परेर अर्की १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी छन् । बुधबार राती पहिरो संगै खोलामा आएको बाढीले ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएको उहाले जानकारी दिनुभयो । बाढीले खार र जामिर जोड्ने ५० मिटर लामो झोलुङ्गे पुल समेत बगाएको छ । उद्धारका लागी घटनास्थल तथा जिल्ला भरीका प्रभावित क्षेत्र तर्फ प्रहरी परीचालन गरीएको प्रहरी नायव उपरिक्षक भट्टले बताउनुभयो ।

गाउँपालिका–६ धुलीगाडा स्थित २ वटा पानी घट्ट, ३ आरसीसी पुल, ३ खानेपानीका मुहान बगाएको छ, भने स्वास्थ्य चौकी भवन जोखिममा रहेको खबर प्राप्त भएको उहाले बताउुनभयो । घट्ना गएरातीको भए पनि फोन नेटवर्कको समस्याका कारण ढिलो गरी जानकारीमा आएको हो ।