इटाली युरोकपको फाइनलमा

392
Shares

लन्डन, (एजेन्सी) ।

तीनपटकको युरो कप विजेता स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली जारी युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनमाथि पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । यससँगै यसअघि तीनपटक युरो कप जितेको स्पेनको चौथो उपाधि जित्ने सपना यसपटक पूरा हुन सकेन । यता एकपटक मात्र युरो कप जितेको इटाली भने दोस्रो उपाधि नजिक पुगेको छ । इटाली जारी युरो कपको फाइनल प्रवेश गर्ने पहिलो टिम हो ।

निर्धारित ९० मिनेट र चार मिनेटको इन्जुरी समयमा समेत गरी खेल १–१ को बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । त्यहाँ पनि इन्जुरी समयमा समेत गरी ३२ मिनेटको खेल हुँदा विजेता टुंगो नलागेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जहाँ स्पेनमाथि इटालीले बाजी मार्न सफल भयो । पेनाल्टी सुटआउटमा स्पेनका दुई जना खेलाडी चुक्दा इटालीले जित पोल्टामा पार्न सफल भयो । खेलभरि स्पेनले निकै शानदार खेले पनि पेनाल्टीमा गोल गर्न नसक्दा उपाधि यात्रामा पूर्णविराम लागेको हो ।

निकै प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलमा भएका दुवै गोल दोस्रो हाफमा भएका थिए । खेलको अधिकांश समय बलमा स्पेनले आफ्नो पकड राखेर खेलेको थियो । तर, सफलता भने इटालीले पायो । इंग्ल्यान्डको लन्डन सहरस्थित वेम्बली रंगशालामा भएको खेलमा पहिला इटालीले अग्रता बनाएको थियो । ६०औं मिनेटमा युवा स्टार फेडरिको किइजाले डीबक्सभित्रबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले स्पेनका दुई जना डिफेन्डरका माझबाट हानेको घुमाउरो प्रहार स्पेनिस गोलकिपरलाई बिट गर्दै जाली चुमेको थियो । उनले किइजाको प्रहारमा आएको बल रोक्नका लागि प्रयाससमेत गर्न पाएनन् । गोल बेहोरेपछि स्पेन चर्को दबाबमा परेको थियो । तर, खेलको ८०औं मिनेटमा स्पेन खेलमा फर्कियो । सब्स्टिच्युट फरवार्ड अल्भारो मोराटाले ड्यानी ओल्मोको उत्कृष्ट तालमेलमा डीबक्स भित्रबाट निकै सहज गोल गरेपछि स्पेन खेलमा फर्किएको थियो ।

शुरूवातबाट अतिरिक्त समयसम्म पुग्दा खेल कुल एक सय २६ मिनेटसम्म चले पनि हार–जितको निर्णय नभएपछि खेल पेनाल्टीमा पुगेको थियो । पहिला इटालीले पेनाल्टी प्रहार गरेको थियो । इटालीको पहिलो पेनाल्टी स्पेनका गोलकिपरले बचाए । सो पेनाल्टी म्यानुएल लोकाटेल्लीले हानेका थिए । लगत्तै स्पेनिस खेलाडी ड्यानी ओल्मोको पेनाल्टी प्रहार भने पोस्टभन्दा निकै माथिबाट आकासियो । स्पेन पेनाल्टीमा चुकेपछि इटालीले राहतको सास फेरेको थियो । त्यसपछि, स्पेन र इटालीले लगातार २–२ पेनाल्टीमा गोल गरे । जसमा इटालीका लागि आन्ड्रेया बेलोट्टीले पहिलो गोल गर्दा स्पेनका लागि जेरोर्ड मोरेनोले पनि गरे ।

त्यसपछि इटालीको तेस्रो पेनाल्टीमा लियान्द्रो बोनुचीले गोल गरे भने स्पेनका लागि थियागो अलकान्ताराले गोल गरेर खेल २–२ को बराबरी बनाए । त्यसपछि इटालीका लागि चौथो पेनाल्टीमा फेडरिको बर्नान्डेचीले गोल गरेर खेल ३–२ बनाए । तर, टिमलाई बराबरी गोल चाहिएका बेला स्पेनका फरवार्ड अल्भारो मोराटा चुके । उनको पेनाल्टी इटालियन गोलकिपरले रोकिदिए । त्यसपछि इटाली सेफ जोनमा रह्यो । इटालीलाई अब खेल जित्न पाँचौं पेनाल्टीमा गोल गरे पुग्ने अवस्था थियो । जहाँ जर्जिन्हो निर्णायक पेनाल्टीभच सजिलै गोल गरेपछि स्पेनले पाँचौं पेनाल्टी हान्न नपाई खेल इटालीले ४–२ ले जित्यो ।

यससँगै, इटालीले आफ्नो अपराजित खेल संख्या कुल २९ बनाएको छ । यो खेलअघि इटाली २८ खेलमा लगातार अपराजित थियो । जारी युरोमा पनि इटाली कुनै पनि खेल नहार्ने एक मात्रै टिम हो । यसअघि, सन् २०१२ मा भएको युरो कपको फाइनलमा स्पेनले इटालीलाई नै ४–० को गोलअन्तरमा हराएर तेस्रोपटक युरो उपाधि जितेको थियो । अब इटालीले फाइनलमा उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।