बाढीपहिरोमा परी ४४ को मृत्यु

1.88k
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी बुधबारसम्म ४४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २४ पुरुष, १३ महिला, ४ बालक र ३ जना बालिका रहेका छन् ।

तीमध्ये सिन्धुपाल्चोकमा ५, डोटीमा ४, रोल्पा र गोरखामा ३/३, चितवन, तनहुँ, प्युठान, धादिङ, म्याग्दी, दाङ र रौतहटमा २/२, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा म्याग्दी मंगला गाउँपालिका–५ छिस्बाङस्थित थमबहादुर बुढाथोकीको घर बाढीले भत्किँदा सोही घरमा पसल गरी बस्ने मालिका गाउँपालिका–६ दुखु घर भएका गजिन रोका र उनकै श्रीमती बिना रोकाको मृत्यु भएको छ ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ६० जना घाइते भएका छन् । तीमध्ये ३२ पुरुष, १४ महिला, १० बालक र ४ बालिका रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बाढीपहिरोमा परी २७ जना बेपत्ता भएका छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकमा २०, चितवनमा ३, पर्वत २ तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन् । बाढीपहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६, चितवनमा ४ सय २, सिन्धुपाल्चोकमा १ सय २३, दोलखामा ३५, लमजुङ र सल्यानबाट ८/८, जाजरकोटमा ७, गोरखा र दाङमा ४/४ र कञ्चनपुरमा ३ जना रहेका छन् ।

बाढीका कारण १ हजार ४ सय २८ वटा घर डुबानमा परेका छन् । ५ सय ४५ वटा घर, ९७ वटा गोठ, ३९ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८ सय ३६ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा ४ सय ९६ वटा विपद्का घटनाबाट १ हजार १ सय ५४ वटा घरपरिवारका ५ हजार ३ सय ८५ जना मानिस विस्थापित भएका छन् ।