सिल्भा लेइप्जिगमा अनुबन्धित

448
Shares

लन्डन, (एजेन्सी) ।

पोर्चुगीज फरवार्ड आन्द्रे सिल्भा जर्मन क्लब आरबी लेइप्जिगमा अनुबन्धित भएका छन् ।

बुन्डेसलिगा क्लब आरबी लेइप्जिग र आन्द्रे सिल्भाले पाँच वर्षको अनुबन्ध सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ । लेइप्जिगले सिल्भालाई जर्मनकै अर्को क्लब फ्रान्कफर्टबाट २३ मिलियन युरोमा टिममा भित्र्याएको हो । सम्झौता अनुसार अब २५ वर्षीय फरवार्ड २०२६ सम्म लेइप्जिगमा रहनेछ । गत सिजन फ्रान्कफर्टबाट ३४ म्याचमा २९ गोल गरेका सिल्भा सोही सिजन लिगकै दोस्रो सर्वाधिक गोलकर्ता बनेका थिए ।

सिल्भा सन् २०१९ मा इटालियन सिरी ए क्लब एसी मिलानबाट फ्रान्कफर्ट पुगेका थिए । सन् २०१७ मा पोर्चुगिज क्लब पोर्टाेबाट इटालियन क्लब एसी मिलानमा सामेल भएका सिल्भाले दुई सिजन लोनमा स्पेनिस क्लब सेभिया र फ्रान्कफर्टबाट खेलेका थिए । उनले पोर्चुगलका तर्फबाट ४२ म्याच खेल्ने क्रममा १६ गोल गरिसकेका छन् । युरो २०२० मा भने पोर्चुगलका लागि तीन म्याच खेलेका उनले कुनै गोल आफ्नो नाममा दर्ता गर्न सकेनन् ।