महासचिव चन्दलाई संघको बधाई

154
Shares

काठमाडौं, (नेस) ।

नेपाल भलिबल संघले महासचिव जितेन्द्र बहादुर चन्द एसियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चयन हुन सफल भएकोमा सोमबार एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना प्रदान गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा संघका कार्यवाहक अध्यक्ष श्री यामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, संघका सदस्यहरू, प्रमुख प्रशिक्षक, प्रशिक्षकहरू तथा एसियन महिला भलिबल च्याम्पियनसिपका तयारीमा रहेका खेलाडी लगायतको उपस्थिति रहेको थियो ।

महासचिव चन्दलाई कार्यवाहक अध्यक्ष तथा पदाधिकारीहरूले बधाई तथा शुभकामना दिंदै कार्यकालको सफलताको कामनासहित नेपालजस्तो विकासोन्मुख राष्ट्रले एसियन सेन्ट्रल जोनको पदाधिकारीजस्तो गरिमामय पदमा नियुक्त हुनु नेपाल तथा भलिबल संघको नै गौरवको विषय भन्दै यसको नेपाल भलिबल संघले सक्दो सदुपयोग गर्नु पर्नेमा जोड दिए ।

महासचिव चन्दले सेन्ट्रल जोनको कोषाध्यक्षमा नियुक्त हुनु विगतमा नेपालले भलिबल खेलको विकासमा गरेको कार्यहरूको मूल्याङ्कनको प्रतिफल भएको भन्दै आगामी दिनमा अझ बढी चुनौती थपिएको र संघले भलिबल खेलको विकास र विस्तारमा अझ बढी कार्यगर्नु पर्ने बताए ।

एसियन भलिबल महासंघले आफ्ना आवद्ध राष्ट्रहरूलाई पाँच क्षेत्रमा विभाजन गरेर भलिबल खेलको विकासलाई अगाडि बढाइ रहेको छ । अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरू एसियन सेन्ट्रल जोन क्षेत्रअन्तर्गत पर्दछन् । जसमा नेपालसहित १४ राष्ट्र सदस्य छन् ।