भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि



बैतडी, (नेस) ।

बैतडीमा आज मंगलबारदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत जेठ २८ देखि जिल्लामा सञ्चालन भएको खोप अभियानअन्तर्गत भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा लगाइने भएको हो ।

खोपको पहिलो मात्रा लगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा खोप कार्डसहित आउन आग्रह गरिएको छ । बैतडीमा करिब ३ हजार नागरिकले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा लगाउन लागेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका नागरिकलाई मंगलबार भेरोसेल खोपको दोस्रो मात्रा दिइनेछ ।

यस्तै, मेलौली नगरपालिकाका नागरिकलाई असार २३ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई असार २५ गते खोप लगाइने तथा सिगास र सुर्नया गाउँपालिकाका नागरिकलाई असार २६ गते खोप लगाइने प्रमुख भट्टको भनाइ छ ।

यसै गरी, पुर्चौडी नगरपालिकाका नागरिकलाई असार ३१ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा खोप केन्द्र तोकिएको र तोकिएका ठाउँमा खोपको दोस्रो मात्रा लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्