बजेटको गनगनले प्रदेशसभा अनिश्चित



नेपाल समाचारपत्र, हेटौंडा ।

आगामी आर्थिक वर्षको बजेटको गनगनले सोमबार पनि वागमती प्रदेशसभा स्थगित भएको छ । विपक्षी दलको अवरोधका कारण प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरेअनुसार योजना नभएको र बजेट वितरणमा पक्षपात गरिएको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका थिए । शनिबारको प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रदेश सरकारको ‘गौरवको योजना’ हेटौंडा–कुलेखानी सुरुङमार्ग निर्माण गर्न नहुने तथा प्रदेश सरकार आफंैले सञ्चारगृह स्थापना गर्न नहुनेसहित माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र तथा प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । विपक्षी दलले अवरोध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो ।

प्रदेश सरकारले बजेट ल्याउँदा विपद् व्यवस्थापनलाई ध्यान नदिएको, कोभिड महामारी नियन्त्रण र रोकथामको योजना ल्याउन नसकेको, योजनाहरु पक्षपात ढंगले ल्याएको र १० करोड खर्चेर आफैं आमसञ्चार गृह सञ्चालन गर्ने निर्णय गरेको भन्दै विपक्षीले प्रदेशसभामा मोर्चा कसेका हुन् । विनियोजन विधेयकप्रति असन्तुष्ट विपक्षी दलहरुले आइतबार संसद् अवरुद्ध गरेपछि सभामुख श्रेष्ठले बोलाएको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि सोमबारका लागि बैठक राखिएको थियो । सभामुख श्रेष्ठले बैठक सञ्चालन शुरु गर्नेबित्तिकै विपक्षी दलका सांसद्ले सदन अवरुद्ध गरेका थिए ।

विपक्षी दलले बजेटमाथि छलफलका लागि बोलाइएको यसअघिका तीन बैठकमा अवरोध गरेका थिए । आइतबार बोलाइएको बैठक दलहरुबीच सहमति नजुटेपछि स्थगित गरिएको थियो ।

‘दुई पक्षमा बाँडिएको एमालेका सत्तापक्षलाई सरकारले ल्याएको बजेटमा भागवण्डा पुगेको छैन । उनीहरु आ–आफैं भागवण्डा मिलाउन लागिपरेका छन्’, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले भन्नुभयो– ‘कहाँ र कसरी बजेट विनियोजन गर्ने भन्दा पनि आफ्नालाई भाग पुर्‍याउन सरकार लागेको छ । सरकारले आफ्नालाई मात्र बजेट भागवण्डा गरेर आएकाले कुनै हालतमा बजेट पास हुन दिइने छैन ।’

नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकार जनताका लागि भन्दा पनि आफ्ना पार्टीका सांसद् र कार्यकर्ताका लागि बजेट भागवण्डा मिलाउन व्यस्त भएको आरोप लगाउनुभयो । एमालेका माधव पक्षका सांसद् अरुण नेपालले बजेटमा सरकारले ओली पक्षलाई मात्र समेटेको आरोप लगाउँदा सांसद राजेन्द्र पाण्डेले मुख्यमन्त्री डोरमणि पौडेलले आफू पक्षीय सांसदलाई बोलाएरै बजेट बाँडेको बताउनुभयो ।

प्रमुख प्रतिपक्ष माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेट प्रदेशबासीको हितमा नरहेको भन्दै सदन अवरुद्ध गर्दै आएका छन् ।

विपक्षी दलले प्रदेशसभा बैठकमा निरन्तर अवरोध सिर्जना गरेपछि सत्तापक्षलाई बजेट पास गराउन संकट परेको छ । विपक्षी दलको अवरोधकै बीच आफ्नै पार्टीभित्रको असन्तुष्ट पक्षले बजेट पास गर्न सहयोग नगर्ने चेतावनीका कारण पनि सरकारलाई मुस्किल परेको हो । सत्तापक्षकै माधव नेपाल–झलनाथ खनाल पक्षले बजेट फेल गराउने चेतावनी दिएका कारण पनि सरकारलाई संकट आइपरेको हो ।

प्रदेशसभामा एकातिर बजेटको गनगन सुनिएका बेला सांसद्हरुको चर्को विरोध जारी रहेका विद्युतीय सवारीसाधन सञ्चालनका विषयमा सरकारले सांसदहरुसँग अन्तरक्रिया गरेपछि विपक्षी झन् आगो भएका हुन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विद्युतीय सवारीसाधन सञ्चालन तथा व्यवस्थापनका प्रगति तथा भावी योजनाका विषयमा हेटौंडामा छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्