निषेधाज्ञा खुकुलो भएसँगै महामारी फैलने डर, पर्याप्त किट भए पनि परीक्षण कम

3.1k
Shares

गणेश घिमिरे, इलाम ।

इलाममा निषेधाज्ञा खुकुलो गर्दा समुदायमा कोरोना महामारी फैलने डर बढेको छ । महामारीको दोस्रो लहरले निम्त्याएको खतरा केही घट्दै गए पनि तत्कालै गरिएको खुकुलोपनले पुनः संक्रमण फैलन सक्ने डर बढेको हो ।

स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन विमल बरालका अनुसार कोरोनाको शंकास्पद भएका बिरामीका लागि परीक्षण गर्न एन्टिजेन किट पर्याप्त भए पनि पछिल्लो केही दिनयता इलाममा सोचेजति परीक्षण हुन सकेको छैन । ‘अहिले आर्थिक वर्षको अन्त्य भएकाले सरकारी कार्यालय तथा स्थानीय तहको कामकाज यस आर्थिक वर्षको सबै सक्नुपर्ने तथा वर्षाको समय भएकाले दैनिक परीक्षण गर्न सकेका छैनौं’, फोकल पर्सन बराल भन्नुहुन्छ– ‘किट पर्याप्त हुँदाहुँदै पनि सोचे जति परीक्षण गर्न भने सकिरहेका छैनौं ।’ चाहिने जति एन्टिजेन किट भए पनि पछिल्लो केही हप्तायता नागरिकले परीक्षण गर्न नखोज्दा संक्रमण व्यापक फैलने डर बढेको हो ।

‘वडा वडामा रहेका जनप्रतिनिधि र नागरिक अगुवामार्फत मानिसलाई परीक्षणको दायरामा आउने वातावरण बनाउन जरुरी छ’, इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर प्रभु शाह भन्नुहुन्छ– ‘निषेधाज्ञा खुकुलो भए पनि सबै नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने र परीक्षणको दायरामा आउनुपर्छ ।’ इलाम अस्पतालमा हाल कोरोना संक्रमति बिरामीहरु अत्यन्तै कम मात्रामा आइरहेको र अस्पतालमा बेड नपाउने, अक्सिजन अभावजस्ता समस्या नभएको डाक्टर शाहको भनाइ छ । उहाँले निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक यातायात खुलाउँदा अनिवार्य स्वास्थ्य मापदण्ड पालना, कार्यालयका भीड नियन्त्रणलगायतमा अनुगमन गर्नुपर्ने सुझाउनुभयो ।

चेन ब्रेक नहुँदै खुकुलिएको निषेधाज्ञाले संक्रमण बढाउने डर भए पनि दैनिक कामकाजलाई सहज बनाउँदै लैजान पनि निषेधाज्ञा खुकुलो बनाउनुको विकल्प नभएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र इलामका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र इलामले जिल्लामा गत १४ गतेदेखि निषेधाज्ञा खुकुलो बनाएको हो । त्यसअघि दिउँसो १ बजेसम्म बजार पसल खोलिँदै आएकोमा त्यसपश्चात् साँझ ५ बजेसम्म खुला राख्ने निर्णय गरेको छ ।

जिल्लामा सोमबारसम्म ९ हजार ८३ जनाको कोरोना परीक्षण भएको छ । त्यसमध्ये १९ सय ८७ जना संक्रमित भएका छन् । ४९ जनाको ज्यान गइसकेको छ ।