१९ मा कोरोना, चडेपानी सिल

84
Shares

बैतडी, (नेस) ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँ एक हप्ताका लागि सिल गरिएको छ । एकै गाउँका १९ मा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको विपद् व्यस्थापन समितिको बैठकले उक्त गाउँलाई सिल गरेको हो ।

संक्रमणको रोकथाम र नियन्त्रणका लागि असार २१ गतेदेखि असार २७ गतेसम्मका लागि सिल गरिएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले जानकारी दिनुभयो । सिल भएको अवधिमा उक्त गाउँमा आवत–जावतमा पूर्णरूपमा रोक लगाइएको छ ।

उक्त गाउँका करिब ८० जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै होम आइसोलेसनमा बसिरहेका गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेन्द्र नाथले बताउनुभयो । संक्रमितहरुलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह गर्दा नमानेकाले गाउँमा संक्रमणको झनै जोखिम बढेको छ ।

चडेपानीमा कम्तीमा ५ सय जनाको बसोबास रहेको स्वास्थ्य शाखाले जनाएको छ । सिल गरिएको उक्त अवधिमा उनीहरु सबैको परीक्षण गरिने स्वास्थ्य प्रमुख नाथको भनाइ छ ।

दोगडाकेदार गाउँपालिकामा हाल चडेपानीका मात्रै १९ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लाभर सक्रिय संक्रमितको संख्या ८९ रहेको छ । कोरोनाकै कारण बैतडीमा १८ जनाको मृत्यु भइसकेको छ ।

भारतसँग सीमा जोडिएको बैतडीमा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा असार १६ पछि निषेधाज्ञा खुकुला गरिएसँगै संक्रमण पनि बढ्दै गएको छ ।