चिरञ्जीवी मास्के, दोलखा ।
निर्माण शुरू भएको करिब १० वर्षपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आंशिक तयार भएको छ । स्वदेशी लगानीमा बनेको ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट सोमबार पहिलाो चरणमा विद्युत् उत्पादन भएसँगै आंशिक निर्माण पूरा भएको हो ।
आयोजनामा रहेको विद्युत गृहका ६ वटा युनिटमध्ये सोमबार एउटा युनिटबाट विद्युत् उत्पादन हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमाता भए पनि तत्काल उक्त क्षमतामा भने विद्युत् उत्पादन नहुने जनाइएको छ । दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा रहेको सो आयोजना सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट काठमाडौंंबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आइतबारसम्म ढल्केबर सबस्टेशनबाट लामाबगरको गोंगरमा रहेको २२० केभी लाइनको सबस्टेसन चार्च गरिएको आयोजनाका प्रवक्ता न्यौपानेले बताउनुभयो । सोमबारबाट गोंगरको सवस्टेशनबाट खिम्तिको २२०/१३२ केभी लाइनको सवस्टेशन र त्यहाँबाट ढल्केबरको २२०/१३२ केभी लाइनको सबस्टेसनमा विद्युत् चार्च गरी राष्ट्रिय प्रणालीमा जोडिने न्यौपानेको भनाइ छ । दुई हप्तापछि भने गोंगरबाट सिधैं ढल्केबर सबस्टेशनमा विद्युत् चार्च गरिने पनि न्यौपानेले बताउनुभयो । अहिले नै सिधै ढल्केबर सबस्टेशनमा पु¥याउन सकिन्छ ।
खिम्ती–ढल्केबर प्रसारण लाइन ७६ किलोमिटर छ । माथिल्लो तामाकोसीको विद्युत् गृह रहेको दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइन छ । खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण भइरहेको छ । सबस्टेसनको परीक्षणका लागि केही दिन लाग्ने देखिएकाले हाललाई वैकल्पिक व्यवस्था गरी आयोजनाको विद्युत् न्यू खिम्ती सबस्टेसनमा नलगी सिधै ढल्केबर सबस्ेटसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ, सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत् न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौंं उपत्यकातर्फ प्रवाह गरिने छ ।
आर्थिक बर्ष २०६७/६८ मा निर्माण शुरु भएको आयोजनाको मुख्य सुरुङको डिजाइन परिर्वतन, लट २ ठेकेदारको कमजोर कार्य तथा भूकम्प, नाकाबन्दी तथा कोरोना संक्रमणका कारण आयोजना निर्माणमा दुई वर्षभन्दा बढी ढिलाइ भएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताउनुभयो । निर्माण अवधिको ब्याजबाहेक आयोजनाको संशोधित लागत हालसम्म ५२ अर्व रुपियाँ रहेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । ब्याजसहित आयोजनाको कुल लागत झण्डै ८३ अर्ब पुग्ने अनुमान गरिएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेको भनाइ छ ।
आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपियाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ । आयोजनाको साइट कार्यालय, आयोजना स्थलसम्मको पहुँच सडक, पुललगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२/६३ मा समपन्न भएको थियो ।
प्रतिक्रिया