स्याङ्जामा विपद्बाट ६ को मृत्यु, १ बेपत्ता

4k
Shares

अमृत अर्याल, स्याङ्जा ।

विभिन्न विपद्का कारण पछिल्लो दुई हप्तामा स्याङ्जामा ६ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन् । मनसुन सुरु भएयता दैवी प्रकोपबाट विभिन्न घट्नामा परेर आधा दर्जन नागरिकले ज्यान गुमाए भने एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खोलाले बगाएर ४, भीरबाट लडेर १, चट्याङ लागेर १ गरी ६ जनाले दुई सातामा ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ । बाढी पहिरोका कारण १४ घरधुरीका ६८ जना विस्थापित भएका छन् भने ९७ घर पहिरोको जोखिममा हुँदा ५ सय ३३ जना नागरिक प्रभावित भएको प्रहरीले जनाएको छ ।

बाढीका कारण यस बर्ष जिल्लामा मानवीय क्षति धेरै भएको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र अधिकारीका अनुसार आँधीखोला गाउँपालिका ६ का ६० वर्षीय घनश्याम शर्मा, पुतलीबजार नगरपालिका ४ का ५१ वर्षीय टेकबहादुर थापाको खोलाले बगाएर मृत्यु भएको बताउनुभयो । खोलाले बगाएका ४ जना मध्ये २ जनाको अझै सनाखत हुन सकेको छैन् । त्यसै गरी बाँदर धपाउने क्रममा पुतलीबजार नगरपालिका २ का ३५ वर्षीय तिलक कुँवरको भिरबाट लडेर मृत्यु भएको छ भने अर्जुनचौपारी गाउँपालिका २ का १५ वर्षीय रोहित कुँवरको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । गल्याङ नगरपालिका ४ का १८ वर्षीय सन्दीप न्यौपाने आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । न्यौपानेको खोजी कार्य जारी भए पनि अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ । यसै गरी बाटो हिँड्दै गर्दा पहिरो आएर बगाउँदा हरिनास गाउँपालिकाका ४८ वर्षीय कृष्ण थापा घाइते भएका छन् । थापाको अवस्था सामान्य रहेको छ ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल बाढीपहिरोजस्ता विपद्का घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न प्रशासनले आवश्यक कदम चालिरहेको बताउनुभएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीभित्र पनि विपद्को समयमा राहत तथा उद्धारलाई केन्द्रमा राखेर छुट्टै गण तथा तालिम दिइराखेको प्रजिअ नेपालले बताउनुभयो । मनसुन सुरु भए देखी जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका सबै युनिटहरूलाई सावधानीपूर्वक विपद्का लागि तैनाथ अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता अधिकारीले बताउनुभयो । स्थानीय तह सँग समन्वय गरी विपद्को सामना गर्न सबै युनिटलाई निर्देशन दिएका छौँ प्रवक्ता अधिकारीले भन्नुभयो, ‘सीमित साधन श्रोतको उच्चतम प्रयोग गरी विपद्मा खटिएका छौँ ।’ सबै नागरिकलाई होसियार रहन पनि अनुरोध गर्दै आएको प्रहरीको भनाई छ ।

अध्ययनबिना जथाभावी सडक निर्माणका कारण जिल्लामा पहिरोका घटना बढ्दै गएको छ । सिद्धार्थ राजमार्ग देखि ग्रामीण सडकहरूमा पनि पहिरोले क्षति पुर्‍याएको छ । पहिरो जाने बित्तिकै डोजर प्रयोग गरी सडक खुलाउने व्यवस्था भएकाले लामो समय बाटो अवरुद्ध हुन भने पाएको छैन । यस विषयमा हरेक स्थानीय तहका साधनश्रोत देखी सडक विभागका साधनश्रोत परिचालन गर्ने गरी तयारी अवस्थामा रहेको बताइएको छ । मनसुन अझै सक्रिय हुने र यसबाट जनधनको क्षति सकेसम्म नहोस् भन्ने हेतुले जिल्ला प्रशासन कार्यालय स्याङ्जा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ११ ओटै स्थानीय तहका जनप्रतिनिधिहरू उच्च सतर्कताका साथ लाग्ने गरी कार्ययोजना बनाएर अगाडी बढेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।