खुदो चोरेर बिक्री गर्ने चालक पक्राउ



मोतीराम तिमल्सिना। काभ्रे ।

गाई भैसीलाई खुवाउने दानामा प्रयोग गरिने खुदो ढुवानीकर्ता चालकले चोरी गरी विक्री पछि पानी मिसाउने गरेको तथ्य फेला परेको छ । अधिकांश ट्रक चालकले हरेक ट्रिपमा कम्तिमा एक हजार लिटर भन्दा धेरै खुदो चोरी गरी विक्री गर्ने गरेको प्रहरीलाई बयान दिएका छन् । ‘चिनी उद्योगबाट दाना उद्योगमा प्रयोग गरिने खुदो (मलासिस) ढुवानीका क्रममा चालकहरुले मिसावट गरेको तथ्य फेला पारेका छौं’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले भन्नुभयो–‘ट्रक र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।

अनुसन्धान पछि थप पुष्टी हुन्छ ।’ प्रहरीले बनेपा नगरपालिका वडा नम्वर १३ स्थित त्रिशत्ति फिड इण्डस्ट्रिजबाट खुदो ढुवानी गर्ने को १ ख ७७७७ नम्वरको प्रट्रोलियम ढुवानी गर्ने ट्रक सहित चालक बारा जितपुर सिमरा २२ घर भएका ३० बर्षिय विजय सिं थिङ्ग, सह चालक विजयकै भाई २४ बर्षिय विक्रम थिङ्ग र २२ बर्षिय गोविन्दप्रसाद दाहाल पक्राउ परेका छन् । २०७८ असार १६ गते महोत्तरी जिल्लाको एभरेष्ट सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रालीबाट काभ्रेको बनेपा १३ मा रहेको त्रिशत्ति फिड इण्डस्ट्रिजका लागि १६९.५०० क्विटल खुदो लिएर को १ ख ७७७७ नम्वरको ट्रक आउँदै गरेको थियो ।

ट्रकका चालक विजय सिं थिङ्गले चितवनको पर्सा खुरखुरेमा रहेको चितवन दाना उद्योगमा १ हजार ३ सय ७० केजी विक्री गरेका थिए । प्रति केजी २५ रुपैयाका दरले खुदो विक्री गरेका थिङ्गले एक हजार दाना उद्योगमै काम गर्ने मजदुरलाई दिए भने केहि अन्यलाई दिए । बाँकी रकम ३२ हजार ५ सयको चेक उद्योगले विजयकै नाममा काटिदिएको थियो । प्रहरीले खुदो चोरी विक्री गरी प्राप्त रकमको चेक समेत बरामद गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक राजन कोईरालाले बताउनु भयो ।

ट्रक चालकहरुले ढुवानी गर्दा सामान चोरी गरी विक्री गरी प्रमाण सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बनेपाको रेकर्डमा पहिलो हो ।मिसावट विनाको खुदो विक्री गरेका चालक थिङ्ग राजमार्गको जितपुर भन्ने स्थानमा पानी थपेर बनेपा उद्योगमा आएका थिए । तौल लिएर बराबरी बनाएका चालक थिङ्गले खुदो अनलोड गर्ने क्रममा उद्योगका प्रोपाईटरहरुले पातलो देखेर उद्योगमा खबर गरेका थिए ।

उद्योगले मिसावट खुदो विक्री नगरेको बताए पछि चालकलाई केरकार गरेका थिए । उनले कतै मिसावट नगरेको बताउँदै आएका थिए । उद्योगले अन्त शुल्क बाहेक २ लाख ४८ २ सय १९ रुपैया भुक्तानी गरेको थियो । १६९.५०० क्विन्टल बनेपा ल्याए बापत उद्योगले ट्रकलाई भाडा बापत एक पटकमा ५६ हजार रुपैया तिर्ने गरेको छ ।

पहिलो पटक बनेपाको उद्योगमा सामान ल्याएका चालक विजय थिङ्गलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरे लगत्तै मिसावट गरेको बयान दिएका थिए । चालक विजयले यस्तो सामान्य भएको जानकारी दिएको प्रहरीले बताएको छ ।
खुदोमा पानी मिसावट गर्दा दानामा ढुसी आउँछ । ढुसी आएको दाना पशुलाई खुवाउँदा पशु विरामी हुने र अन्य रोगहरु देखिन्छ । दानाको आयु पनि धेरै नटिक्ने हुन्छ । दाना तात्ने, विग्रने र ढुसी आउने भएकाले खुदोमा पानी मिसावट हुन नहुने विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्