बाढी पहिरोका कारण सिन्धुलीमा २ को मृत्यु, खोलाहरुमा पानीको उच्च बहाव

1.3k
Shares

बुद्ध नेपाली, सिन्धुली ।

सिन्ध्लीमा गत बुधवार राती देखि आज (शुक्रवार) सम्म निरन्तर बर्षा भईरहेको छ । बर्षाका कारण आएको बाढी र पहिरोका कारण केही मानविय र धेरै भौतिक क्षति भएका छन् ।

बुधवार राती देखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोको कारण सिन्धुलीमा हाल सम्ममा दुई जनाको ज्यान गएको हो । विहीवार(हिजो) विहान साढे पाँच बजे तिर आएको पहिरोले लिटिल बुद्धका नामले चिनिएका राम बहादुर बम्जनको आश्रममा बस्दै आएका एक वृद्धको ज्यान गएको छ । कमलामाई नगरपालिका ८ पहिरे स्थित बम्जनको आश्रममा सुतिरहेका मकवानपुर हेटौडा उपमहानगरपालिका १३ का ६९ बर्षिया महात्मा गुरु लरिन बहादुर हिम्दुङको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

त्यस्तै कमलाखोलामा आएको बाढीले बगाउदाँ अर्का एक जना वृद्धको ज्यान गएको छ । कमला खोलाले बगाउदाँ कमलामाई नगरपालिका –५ फोस्रेटारका ८७ बर्षका सन्त बहादुर मगरको ज्यान गएको सिन्धुली प्रहरीका प्रवक्ता प्रहरी निरिक्षक बुद्दिमणी नेपालले जानकारी दिनुभयो । सुनकोशी नदी, कमला नदी, चदा खोला, मरिण खोला, ग्वाङ खोला लगाएतका दर्जनौ साना ठुला खोलाहरुमा पानीको बहाव बढेको छ । बर्षाका कारण जिल्लाका अधिकांस स्थानिय तह जाने सडकहरु भत्किएका छन् । स्थानिय तहहरुबाट गाउँ गाउँ जाने ग्रामिण सडक पनि भत्किएका छन् । सिन्धुलीमाढीबाट तिनपाटन गाउपालिका जाने सडक पहिरो खसेर अवरुद्ध भएको गाउपाकिाले जनाएको छ । निर्माणाधिन अवस्थामा रहेको सिन्धुलीमाढीबाट तिनपाटन गाउपालिका जाने सडकमा खनेर फराकिलो बनाएको ठाउँहरुमा पहिरो खसेको स्थानियले बताएका छन् । सुनकोशी नदी, कमला नदी, चदा खोला, मरिण खोला, ग्वाङ खोला लगाएतका खोलामा आएको बाढीले खेती योग्य जमिन कटान गर्न सुरु गरेको छ ।