बैठकमा सहभागी नहुने नेपाल समूहको निर्णय

210
Shares

काठमाडौं, (नेस) ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पार्टीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको फैसलाविरुद्ध दशौं महाधिवेशन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरिएकाले नेपाल समूहले पार्टीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक अवैध भएको निष्कर्ष निकाल्दै बिहीबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टीलाई जेठ २ अघिकै कमिटी नब्युँताउँदासम्म कुनै पनि बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको हो । पार्टी अध्यक्ष ओलीले आज (शुक्रबार) नेपाल समूहका केन्द्रीय सदस्यहरूलाई पनि बैठकमा सहभागी हुन पत्राचार गर्नुभएको छ ।

नेपाल समूहका नेतृ अष्टलक्ष्मी शाक्यले अवैध बैठकमा सहभागी नहुने निर्णय भएको बताउनुभयो । उहाँले पार्टी अध्यक्षले बोलाएको अवैध बैठकमा सहभागी नहुने बताउँदै विधिसम्मत रूपमा अहिले पार्टी सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीलाई विधिविधानमा चलाउन सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गरेर जेठ २ अघिकै कमिटीलाई ब्युँताएपछि मात्र बल्ल पार्टी वैधानिक हुन्छ ।’

बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । उक्त बैठकमा सहभागी हुन एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले नेपाल समूहका सहित दुई सय ६१ जनालाई नै पत्राचार गर्नुभएको छ ।

‘पार्टी अध्यक्षले पार्टी एकता नचाहेकै कारण अवैध बैठक बोलाउने काम भएको छ, हामीले पार्टी एकतालाई इमान्दार भएर निर्णय लिन आग्रह गर्दा पनि सुनुवाइ हुन सकिरहेको छैन’ –नेता शाक्यले भन्नुभयो । बैठकमा सहभागी अधिकांश नेताहरूले पार्टी एकताका लागि आफूहरूले इमान्दार प्रयास गर्दा पनि अध्यक्ष ओली इमान्दार नभएको बताएका थिए ।

बैठकमा संस्थापन पक्षसँग अनौपचारिक वार्तामा सहभागी हुनुभएका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले आफूहरूले जेठ २ अघिकै कमिटी ब्युँताउने आग्रह गरे पनि अध्यक्ष ओलीले बेवास्ता गरेर अगाडि बढेको बैठकमा जानकारी गराएका थिए ।

त्यसैगरी, बैठकमा भारतमा उपचारत पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपालबीच भिडियो संवाद भएको थियो । संवादमा नेता खनालले अहिलेकै अवस्थामा बैठकमा सहभागी नहुन आग्रह गर्दै एकताको लागि अझै प्रयास जारी राख्नुपर्ने बताएको नेता शाक्यले बताउनुभयो । हाल नेपाल समूहमा असी जनाभन्दा बढी केन्द्रीय सदस्यहरू रहेका छन् ।