कोरोना परीक्षण गराउनेको संख्या घट्दै, जोखिम बढ्दै

616
Shares

काठमाडौं, (नेस) ।

नेपालमा कोरोना संक्रमितको संख्या केही घटे पनि लक्षण देखिएर पनि परीक्षण नगराई घरमै बस्नेको संख्या धेरै भएकाले जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सूचना जारी गर्दै कोरोना लक्षण देखिए पनि घरमा बस्दै आएको र अन्यलाई सार्ने जोखिम बढेकाले समयमै परीक्षण गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ– ‘मास्क प्रयोगसहित स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्नुका साथै लक्षण देखिएकाको समयमै परीक्षण हुनु कोरोना नियन्त्रणका आधार हुन् ।’ सरकारले केही दिनयता निषेधाज्ञा खुकुलो गरेसँगै पुनः संक्रमणदर बढ्न थालेको उल्लेख गर्दै मन्त्रालयले कोरोना संक्रमितको सम्पर्कमा आएका र लक्षण देखिएका जो–कोहीले पनि तुरून्तै पीसीआर परीक्षण गर्न अनुरोध गरेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र समयमै परीक्षण गर्ने पहिलो सर्त भए तापनि कोरोना केही होइन भन्दै हेलचेक्र्याइँ गर्ने व्यक्तिहरूका कारण कोरोना संक्रमण नियन्त्रणमा थप समस्या उत्पन्न भएको स्वास्थ्य विज्ञहरूको ठम्याइ छ ।

विज्ञहरूले नेपालमा ‘डेल्टा प्लस भेरियन्ट’ फैलँदो क्रममा हुनाले तेस्रो लहर आउने बताउँदै आएका छन् । यो अवस्थालाई समेत ध्यानमा राखी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारम्बार सहज अवस्था नभएसम्म आफ्नो र परिवारको सुरक्षाका लागि मास्क लगाउने, भीडभाडमा सकेसम्म नजाने र साबुनपानीले मिचीमिची हात धुनलाई मोबाइल, टेलिफोन, भाइबरलगायत विभिन्न सञ्चारमाध्यममार्फत सूचित गर्दै आएको छ ।

नेपाल सरकारले ठूला मुलुकसँग खोपको अपेक्षा गरेअनुसार खोप पाउने सम्भावना न्यून रहेकाले आफ्नो परिवार र समाजको सुरक्षाका लागि आम नागरिकले सुरक्षा मापदण्ड अपनाउनुको विकल्प नभएको स्वास्थ्य विज्ञको भनाइ छ । निषेधाज्ञा खुकुलो गरेसँगै संक्रमित र मृतकको संख्या पुनः बढेको र आईसीयूमा बिरामीको चाप बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी आम नागरिक कोरोना संक्रमणका विषयमा सचेत हुनुपर्ने बताउनुहुन्छ । उहाँले कतिपय स्थानमा कोरोना संक्रमणको महामारी बढेको खबर प्राप्त भएपछि वडा वडामा नै गएर परीक्षण गर्दा पनि परीक्षण गराउन आउनेको संख्या अत्यन्तै कम भएको बताउनुभयो ।