नौ हजार बढी बालबालिका कोरोना संक्रमित

2.1k
Shares

भगवती तिमल्सिना, काठमाडौँ ।

नेपालमा कोरोना संक्रमणका कारण धेरै बालबालिका अभिभावकविहीन भएका छन् । ती बालबालिका कोरोना संक्रमण भई पोस्ट कोभिडको समस्यामा गुज्रिएको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ ।

कोरोनाबाट नौ हजारभन्दा बढी बालबालिका संक्रमित हुनुका साथै ६५ भन्दा बढीको मृत्यु भएको र दुई सयको हाराहारीमा अभिभावक गुमाएका अवस्थामा रहेको तथ्यांक प्राप्त भएको परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले जानकारी दिनुभयो ।
निर्देशक धरेलका अनुसार यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त मृतक परिवारको नाम, ठेगानाका आधारमा तय गरिएको र स्थानीय निकायसँग प्रत्यक्ष फोन, इमेललगायतको सहयोगमा प्राप्त भएको हो । यो तथ्यांक अझ बढ्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।

धरेलले बालगृह सञ्चालकले लकडाउनका समयमा नियमविपरीत बालबालिकालाई प्रयोग गरी राहत उठाएको पाइएको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ– ‘यति बेला बालगृह सञ्चालन सेवा हैन पेसा र व्यवसाय बन्दै छ ।’ परिषद्ले यो एक वर्षमा आठ हजार सात सय ९३ जना बालबालिकालाई सहयोग गरेको, दुई सय सातवटा बालविवाह रोकेको जनाएको छ । बालगृहमा रहेका एक हजार दुई सय बालबालिकाको जन्म दर्ता भएको छैन । यसको प्रमुख कारणमा बाबुआमाको मृत्यु भएको या दोस्रो विवाह गरी बच्चालाई टुहुरो बनाएको पाइएको छ ।

२०८२ सम्ममा सडक बालबालिका नरहने र बालश्रमको अन्त गर्ने प्रधानमन्त्रीको लक्ष्य पूरा गर्न श्रम कार्यालय, स्थानीय निकाय, राष्ट्रिय बालअधिकार परिषद्, गृह मनत्रालयलगायतका सरोकारवाला निकाय अघि बढेको खण्डमा नेपाल नागरिकले गैरनेपाली बनेर पीडा भोग्नुपर्ने अवस्थाको अन्त्य हुने धरेल बताउनुहुन्छ ।

आइतबार मात्र परिषद्मा उजुरी परेका आधारमा एक बालकलाई उद्धार गरी मालिकले बालश्रम गराएबापत ७० हजार क्षतिपूर्ति तिराएर सचेत गराएको धरेलले जानकारी गराउनुभयो । नेपालमा हराएका बालबालिकामध्ये ४० प्रतिशत फेला पर्दैनन् ।
यसको रोकथामका लागि स्थानीय स्तरमा राष्ट्रिय बालअधिकार परिषद्को भूमिका हुनुपर्ने महसुस गरी मोरङ, रूपन्देही, जनकपुर र भृकुटीमण्डपमा संरचना तयार पार्न लागिएको र आगामी वर्षमा गण्डकी, कर्णाली, हेटौंडामा विस्तार गर्ने योजना परिषद्ले गरेको जनाएको छ ।

पछिल्लो समय बेवारिसे बालबालिका बढी मात्रामा अनिच्छित गर्भधारण गरी जन्माई छोडेको पाइएकोमा एक सय ८२ जना यो वर्षमा मात्र फेला परेको परिषद्ले जनाएको छ ।

लकडाउनका अवधिमा मापदण्डविपरीत सञ्चालनमा रहेका ३७ वटा बालगृहबाट बालबालिकाको उद्धार गरिए पनि बालगृह बन्द गर्न निर्देशन दिइएको छ भने पाँच वटा नयाँ बालगृह खुलेका छन् । पुराना बालगृह सञ्चालकलाई कारवाही नहुँदा पुनः अन्य बालबालिकाको खोजीमा गाउँगाउँ पसेको सूचना परिषद्मा प्राप्त भएको र त्यस्ता बालगृहलाई जिम्मा नदिन स्थानीय निकायलाई पत्राचार गरिसकेको पनि धरेलले बताउनुभयो ।