पाल्पामा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना संक्रमण पुष्टि, २७ संक्रमित डिस्चार्ज

14
Shares

न्युज अफ नेपाल, पाल्पा ।

पाल्पा जिल्लामा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने २७ जना संक्रमित निको भएका छन । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३९ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

कार्यालयका अनुसार पीसीआर परीक्षणमा २० र एन्टिजेन परीक्षणमा २९ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ५६ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका १०, माथागढी गाउँपालिका २, रामपुर नगरपालिका, बगनासकाली गाउँपालिकाका ३/३, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको हो ।

यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार २ सय ९९ पुगेको छ । जसमा १ हजार ९ सय ४५ महिला र ३ हजार ३ सय ५४ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको छ । ७२ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका १२,पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिकाका १/१, बगनासकाली गाउँपालिकाका ५, तानसेन नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ८ सय ३४ पुगेको छ

कार्यालयका अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा २७ जना संक्रमित निको भएका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १६ जना महिला र ११ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार रामपुरका ५,पूर्वखोलाका १, र तिनाउका २१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ५ सय ५६ पुगेको छ ।

यहाँ अहिलेसम्म १ सय ८ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ६९ छ । अहिलेसम्म जिल्लामा ४ सय ३२ जना होम आइसोलेसनमा रहेका छन्, भने ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।