पिसाब चुहिने समस्या नियन्त्रण हुन सक्छ



– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ) केही समयअघि ५० वर्षीया मेरो एकजना साथीले अफिस जाँदा ब्यागमा लुगा हालेको देखेर मैले ‘टाढै जान लागेको हो ?’ भनी जिज्ञासा राखेँ । उनले ‘होइन जान त अफिस नै जान लागेको हो तर म जता जाँदा पनि एक जोर फाल्टू लुगा त लिएरै जान्छु, मलाई समस्या नै त्यस्तै छ’ भनिन् । मैले किन यस्तो गर्नुपर्छ र भनेँ । उनले अलि अप्ठ्यारो मान्दै भनिन्, ‘मलाई त हाच्छ्युँ, गर्दा धेरै हाँस्दा, लामो समय उभिरहँदा, खोक्दा अलि–अलि पिसाब चुहिन्छ । आफैँलाई गन्हाउन थाल्छ । लुगा नफेरी कतै जान मन लाग्दैन, दिक्क हुन्छ । त्यसैले फेर्नका लागि लुगा त बोक्नै पर्छ । पिसाब धेरै नलागोस् भनेर पानी पनि कम पिउने बानी गर्न थालेकी छु ।’
पिसाब चुहिन्छ भनेर पानी कम खानु शरीरका लागि हानिकारक हो । यसले अरु रोग उत्पन्न गरिदिन सक्छ ।
उनको कुरा सुनेर मैले भनेँ, ‘यो त धेरै महिलाहरूलाई हुने समस्या हो तर यो विषयमा प्रायः त्यति कुरा गरिँदैन । समस्या बोकेर हिँड्ने धेरै हुन्छन् । अरुसँग सल्लाह लिने, उपचार गर्ने पनि गरिँदैन । निकै ठूलो समस्या नपरेसम्म अस्पताल पनि जान मन नगर्ने गरेको पाइन्छ । केही व्यायामहरू गर्दा पनि यस्तो समस्या कम हुन्छ । शुरुकै अवस्थामा व्यायाम आदि उपचार गरे त पूरै नियन्त्रणमा आउन सक्छ । पिसाब चुहिन्छ भनेर पानी कम खानु शरीरका लागि हानिकारक हो । यसले अरु रोग उत्पन्न गरिदिन सक्छ । कतिपयलाई त पानी कम पिउने बानीले गर्दा पिसाबको संक्रमण भएको पाइन्छ । मिर्गौलामा पनि समस्या पर्न सक्छ । पानी कम पिउनु पिसाब चुहिने समस्याको समाधान हुँदै होइन बरु अरु रोगको कारक हो ।’

समस्याको शुरुवात

कतिपय महिलालाई महिनावारी सुकेपछि यसरी पिसाब चुहिने समस्या हुन सक्छ वा पहिले नै भएको समस्या झन् बढ्न सक्छ । कतिपय महिलालाई केही गह्रौं सामान उचालेपछि पिसाब तुरुक्क चुहिने समस्या शुरु हुन थाल्छ र यसले निरन्तरता पाउन सक्छ । गाउँघरका धेरै भारी बोक्ने, धेरै बच्चा जन्माएका महिलालाई यस्तो समस्या पर्ने सम्भावना धेरै हुन्छ ।

के हो पिसाब चुहिने समस्या ?

चिकित्सकीय भाषामा यसलाई ‘युरिनरी इन्कन्टिनेस’ भनिन्छ । नेपाली भाषामा यो समस्यालाई ‘मूत्र असंयम’ भन्न सकिन्छ । यो रोग नै त होइन तर यो महिलाका लागि जटिल समस्याचाहिँ हो । यसले महिलाको दैनिक जीवनमा धेरै अप्ठ्यारो गराउँछ । सामाजिक क्रियाकलापमा सहज तरिकाले भाग लिन वा खुलरे हाँस्न पनि गाह्रो बनाउँछ । यो समस्याले पुरुषको दाँजोमा महिलालाई बढी सताउँछ । धेरै उमेर पुगेपछि पुरुषहरूलाई पनि यो समस्या फाट्टफुट्ट देखिन्छ तर महिलालाई जति समस्या हुँदैन । महिलामा यस किसिमको समस्या हुनुको प्रमुख कारण नै पिसाब थैलीको मांसपेशी कमजोर वा खुकुलो हुनु हो । हाँस्दा, उफ्रिँदा, हाच्छ्युँ गर्दा, गह्राँै सामान उचाल्दा पेटको मांसपेशीमा बल परेपछि पिसाब थैलीमा जोड पर्न जान्छ र पिसाब चुहिन्छ । यस्तो समस्या हुने कुनै–कुनै महिलालाई चाहिँ छिटो–छिटो पिसाब गर्न जान मन लाग्छ, शौचालय नपुग्दै पिसाब चुहिन्छ । यसरी पिसाब चुहिन थालेपछि शरीर नै गन्हाउँछ, गुप्तांग चिलाउँछ र घाउ पनि हुन्छ । यसरी गुप्तांगको समस्या भएको कुरा कसैलाई भन्न पनि गाह्रो हुन्छ । त्यसै कारणले कतिपयलाई अफिस वा कतै जाँदा ब्यागमा थप लुगा बोकेर जानुपर्ने बाध्यता हुन्छ । तर गाउँका महिलालाई यस्तो समस्या पर्दा लुगा बोकेर जान पनि सहज हुँदैन, जसले गर्दा थप समस्या हुन्छ । मूत्राशयमा संक्रमण हुँदा कसैलाई यो समस्या बढी हुन सक्छ । पिसाब चुहिरहने समस्या हुँदा कतिपयले पानी नै कम पिउने गर्छन् । यसरी पर्याप्त पानी पिउन डराउने महिलालाई फेरि मूत्राशयको संक्रमण हुन सक्छ । महिनावारी रोकिएपछि, धेरै मोटा महिला, मधुमेह भएकी महिलालाई यस्तो समस्या बढी हुन सक्छ । महिलाले यस्तो समस्या पछि नआओस् भनेर सुत्केरी भएपछि नै प्रजनन अंगको मांसपेशी बलियो बनाउने व्यायाम गर्दा धेरै फाइदा हुन्छ । मैले मेरो साथीलाई किगल व्यायाम गर्न सिकाएकी थिएँ । उनले हरेक दिन ३ महिनासम्म यो किगल व्यायाम गर्दा उक्त समस्या ८० प्रतिशत जति कम भएको बताइन् ।  यो व्यायाम ‘किगल’ नामका डाक्टरले पहिलोचोटि शुरु गरेको हुनाले उनको नामबाट नै यसलाई ‘किगल’ व्यायाम’ भन्ने गरिन्छ । वास्तावमा विभिन्न योगासनहरूले पनि यो समस्या नियन्त्रण गर्न मद्दत गर्छन् ।

किगल व्यायाम कसरी गर्ने ?

किगल व्यायामले प्रजनन अंगको मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ । शुरुमा पिसाब गर्दा एकछिन् रोकेर, सास फेरेर जननेन्द्रियका मांसपेशीहरू माथितिर ल्याउन कोशिश गर्नुपर्छ । यसो गर्दा मांसपेशीहरु खुम्चिन्छन् । यसरी १० सेकेन्डसम्म खुम्च्याएर राख्नुपर्छ अनि फेरि पिसाब छोडिदिनुपर्छ । पहिले पिसाब गरिसकेपछि १० सेकेन्ड अड्याएर राख्न केही गाह्रो भए ५ सेकेन्डसम्म अड्याउने गर्न सकिन्छ । अनि बिस्तारै समय बढाउनुपर्छ । तर हरेकपटक पिसाब गर्दा ४–५ चोटि गरेपछि पिसाब नफेरेको बेला यो व्यायाम गर्नुपर्छ । अनि बिस्तारै मांसपेशीहरु बलियो हुँदै जान्छन् । यो व्यायाम बसिरहेको बेला, हिँड्दै गर्दा पनि गर्न सकिन्छ । सुत्केरी अवस्थामा पनि गर्न सकिन्छ । पाठेघर झरेर पिसाब चुहिने भएकोमा पनि यसले सुधार गर्छ । पाठेघरको शल्यक्रिया गरेर पाठेघर झिकेपछि पनि कसै–कसैलाई पिसाब चुहिने हुन सक्छ । यस्तोमा पनि यो व्यायामले फाइदा गर्छ । किगल व्यायाम कुनै स्वास्थ्यकर्मीसँग सिकेर गर्न पनि सकिन्छ ।

एक नर्सको अनुभव

करिब १० वर्षअघि मेरी सानी छोरीले एक दिन ‘आमा, तपाईं राम्रोसँग नुहाउनुहुन्न कि क्या हो, जीउ त पिसाबजस्तो ह्वास्स गन्हाउँछ’ भनिन् । छोरीको कुराले म झसङ्ग भएँ । मैले सोचेँ, ‘किन यस्तो लाग्यो छोरीलाई ? शायद अरुलाई पनि लाग्दो हो तर कसैले यस्तो भनेका छैनन् ।’ म नुहाउने, लुगा फेर्ने त गर्थें तर दोस्रो बच्चा भएपछि मलाई बेस्सरी हाँस्दा कहिलेकाहीँ पिसाब चुहिने समस्या भएको थियो । मैले खासै वास्ता गरेकी थिइन । छोरीको कुराले मलाई व्यथित बनायो । मानिसहरुले के सोच्दा हुन् भनेर लाज पनि लाग्यो । मैले साथीहरुबाट किगल व्यायामको बारेमा थाहा पाएँ । अनि नबिराईकन योगासन र किगल व्यायाम गर्न शुरु गरेँ । ६ महिना जतिमा करिब ९० प्रशितशत समस्या कम भयो । तर पनि अझै म समस्या भइहाल्छ कि भनेर एक जोर फाल्टू लुगा सधैँ बोकिराख्छु । मेरी छोरीले मलाई बेलैमा ठूलो पाठ पढाइन् भन्ने लागेको छ ।

योग र अन्य उपाय

त्यसै गरी योगासनका केही आसनहरूलाई दैनिक जीवनमा प्रयोग गरेर पनि यो समस्या केही कम गर्न सकिन्छ । सर्वाङ्ग आसन, उष्ट्रासन, उत्कटासन, ताडासन आदिले पनि मेरुदण्डको मांसपेशी, पुठ्ठाको मांसपेशी र जननेन्द्रियको मांसपेशीलाई बलियो बनाउँछ । ३०–४० वर्षको उमेरका महिलाहरूले यदि सुत्केरी अवस्थादेखि नै यस्ता योगासनहरू गरे भने यसरी ‘पिसाब चुहिने’ समस्या कम हुन मद्दत पुग्छ । त्यसै गरी सुत्केरी अवस्थामा जननेन्द्रियमा संक्रमण नहोस् भनेर विशेष ध्यान दिनुपर्छ । तातो पानी, तितेपाती आदि पानीमा उमालेर यस्तो समस्या हुने महिलाले जननेन्द्रिय धुनुपर्छ । विभिन्न किसिमको चिसो पेयपदार्थ, चिनी आदि सकेसम्म प्रयोग गर्नुहुँदैन । यस्तो समस्या भएकाहरूले एकैचोटि ठूलो बोझ बोक्नुहुँदैन । मूत्रथैलीका मांसपेशीहरूलाई बलियो बनाएर बारम्बार पिसाब फेर्नुपर्ने अवस्था नआओस् भनेर पनि किगल व्यायाम गर्न सकिन्छ । कतिपय महिलाहरू कतै शौचालय देख्नेबित्तिकै पिसाब नलागे पनि शौचालय जान्छन् । यसो गर्दा ‘पिसाब थैली’ धेरै सक्रिय रहन्छ र पिसाब अड्याइरहन समस्या पर्छ । त्यसैले चार–चार घण्टामा पिसाब फेर्ने बानी गर्नुपर्छ । ४०–४५ वर्षको उमेरमा महिनावारी सुक्ने बेलामा महिलाको शरीरमा ‘एस्ट्रोजोन’ नामक हर्मोनको कमी हुन्छ । अनि बिस्तारै पाठेघर र पिसाब थैलीका मांसपेशी पातलो हुँदै जाँदा पनि पिसाब चुहिने समस्या देखिने भएकोले यसलाई ‘उमेरले ल्याउने समस्या’ पनि भन्न सकिन्छ । तर स्वस्थकर जीवनशैली, खानपान, व्यायाम, अनुशासन आदिले यो समस्या सम्पूर्णरुपमा नहटे पनि कम गर्न सकिन्छ । यस्तो समस्या परेका महिलाहरूले पिसाब धेरै लाग्छ भनेर पानी, झोल पदार्थ पिउन कम गर्नुहुँदैन । धूमपान गर्ने महिलालाई बारम्बार खोकी लाग्ने भएकोले उनीहरूमा यो समस्या बढी हने सम्भावना हुन्छ । त्यसैले धूमपान त्यागेकै बेस हुन्छ । विभिन्न अध्ययनहरूका अनुसार कतिपय महिलाहरू यसरी पिसाब चुहिने समस्यालाई समस्या नै ठान्दैनन् । उनीहरुको पिसाब नली, पिसाब थैलीमा संक्रमण भएपछि मात्र स्वास्थ्यकर्मीसँग परामर्श लिन आउँछन् । पिसाब चुहिने समस्यालाई अहिले शारीरिक समस्याको रुपमा मात्र नभई सामाजिक समस्याको रुपमा पनि हेर्न थालिएको छ । यस्तो समस्या भएपछि बारम्बार सरसफाइ गर्ने, लुगा फेर्ने कार्य गर्न नसकेमा समाजमा घुलमिल हुन आफैँलाई पनि अप्ठ्यारो हुन्छ र अरुले पनि अपहेलना गर्न थाल्छन् । सामूहिकरुपमा गर्ने कार्यहरुमा सहभागी गराउन छोड्छन् । यसले एक्लिने अवस्था सिर्जना गरिदिन्छ । सामाजिकरुपमा अपहेलना हुन थालेपछि फेरि मानसिक समस्या पनि थपिन सक्छ । पुरुषहरूलाई पनि यो समस्या प्रोंस्टेटको शल्यक्रियापछि हुन सक्छ । यसको साथै विभिन्न अन्य समस्या जस्तो– पार्किनसन्स, मोटोपना आदिको कारणले पनि यो समस्या हुन सक्छ । पार्किनसन्सको कारणले महिलालाई पनि पिसाब चुहिने समस्या हुन सक्छ । समयमा नै परामर्श नपाउँदा र उपचार नगर्दा यो समस्या झन् बढ्न सक्छ । विश्वमा झन्डै २० प्रतिशत महिलालाई यो समस्या भएको तथ्यांक पाइन्छ । नेपालमा यसको खासै अनुसन्धान त गरिएको छैन तर प्रजनन उमेरका, पाठेघरको शल्यक्रिया गरेका, महिनावारी रोकिएका महिलालाई यो समस्या बढी हुन सक्छ । यो समस्या भएका महिलाले स्वास्थ्यकर्मीसँग सल्लाह लिएर किगल व्यायाम, योगासन सिक्नुपर्छ । तौल धेरै छ भने घटाउने, मधुमेहको समस्या भएकाले औषधि गरेर खानपिनमा ध्यान दिनुपर्छ । विकसित देशमा यस्तो समस्या भएकालाई विभिन्न कृत्रिम उपकरण तथा यन्त्र मूत्रनलीमा राख्ने शल्यक्रिया पनि गरिन्छ । तर यो त्यति सफल भइसकेको भने छैन ।

प्रतिक्रिया दिनुहोस्