न्युज अफ नेपाल, हेटौंडा ।
मापदण्डहरु विकसित मुलुकका आधारमा बनाइने तर त्यसअनुरुप पूर्वाधार विकास नगरिँदा हेटौंडा उपमहानगर क्षेत्रकै ग्राहक नेटवर्क आउने प्रतीक्षामा मोबाइललाई बार्दलीमा झुण्ड्याउन बाध्य देखिएका छन् । हेटौंडा उपमहानगर क्षेत्रमै मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो । सञ्चारको युगका रुपमा रहेको समयमा वडा–१७ मा रहेको बुंगे गाउँमा मोबाइललाई घरको बार्दलीमा झुण्ड्याएर राख्नुपर्ने वाध्यता छ ।
मोबाइललाई घरमा झुण्ड्याएर राखिएको देखेपछि घरका एक सदस्यलाई सोध्यौं–मोबाइललाई किन यसरी झुण्ड्याएर राख्नुभएको ? उहाँले जवाफ दिनुभयो–के गर्नु हजुर, झुण्ड्याएर राखेको ठाउँमा त कहिलेकाँही टावर आउँछ । आफन्तलाई फोन गर्न पाइन्छ कि भनेर यसरी राखेका हौं । मकवानपुरको सदरमुकाम भनेर चिनिने हेटौंडाका घरमा ल्याण्डलाइन र एडीएसएल कछुवा गतिमा इन्टरनेट सेवा चले पनि भित्री वडामा मोबाइल नेटवर्क र डाटा प्रयोगकर्ताले नेपाल टेलिकमको नेटवर्क राम्रोसँग चल्ने नगरेको गुनासो गरेका छन् ।
गाउँघरका युवाले डाटा लिएर मोबाइलबाट प्रत्यक्ष भिडियो कल र सम्पर्क गर्न मोबाइल नेटवर्क प्रयोग गर्दै आएका छन् । लामो समयसम्म पनि नेटवर्कमा समस्या आउँदा पनि टेलिकमले सुनुवाइ नगर्दा आफूहरु घरबाहिर रहेका आफन्तबाट सम्पर्कविहीन हुनुपरेको हेटौंडा–१७ कि रमा घलान गुनासो गर्नुहुन्छ । घलानले भन्नुभयो–कुनै समयमा फोनको घण्टी बजिरहेको अवस्थामा हतारहतार घरबाट पाँच सय मिटरको दुरीमा निस्कनुपर्छ । अनि बल्ल उताबाट बोलेको सुनिन्छ । घरभित्रबाट बोल्नु त रहरमात्र हो ।
मकवानपुरमा हाल नेपाल टेलिकमले ७० वटा भन्दा बढी टावर राखेको छ । त्यसमध्ये उपमहानगरमा २५ वटा रहेको नेपाल टेलिकम मकवानपुर कार्यालयले जनाएको छ । मकवानपुरमा टावर नटिप्ने समस्या देखिनुमा जंगल तथा जति ग्राहकले टेलिकमको सिम चलाए, त्यहीअनुसार टावरको क्षमता घट्बढ हुने टेलिकमको भनाइ छ । कल कायम हुन लाग्ने समय, कल सफलता दर र आफैं कल काटिने दरलाई हेर्दा कम्पनीले तोकिएका मापदण्ड पूरा गरेको देखिँदैन । बारम्बार मोबाइल सेवाको गुणस्तर कमजोर रहेको भन्ने उपभोक्ताको गुनासो आइरहेका बेला प्राविधिक परीक्षणले पनि त्यसलाई पुष्टि गरेको प्रतिवेदनहरुको दाबी छ ।
टावर र अन्य पूर्वाधारमा कमसल उपकरण प्रयोग हुनु, बढ्दो उपभोक्ता संख्याअनुसार क्षमता वृद्धि नगरिनु, नेटवर्क प्रवाहमा रोकावट गर्ने खालको भुगोल र गुणस्तर कायम गराउन कडा कारबाही नहुँदा टेलिकमले सेवाप्रवाहमा ध्यान नलिएको दाबी छ । मर्मतसम्भार र स्तरोन्नति नहुँदा मोबाइलको गुणस्तरमा सुधार नभएको हो ।
वडा–१७ को बुंगेगाउँमा चेपाङ, तामाङको बाहुल्य छ । उक्त क्षेत्रमा पर्ने करिब १० वटा गाउँमा यस्तै समस्या रहेको स्थानीय भोजबहादुर तामाङले बताउनुभयो । वडा–१६ र १७ को सिमाना रहेको त्रिशुली खहरेबाट अधिकांश खहरेकै मार्ग हुँदै पुग्ने गाउँ हेटौंडा उपमहानगरपालिका भएर पनि निकै बिकट छन् ।
प्रतिक्रिया