एनओसी र केल्मीबीच सम्झौता

196
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) र केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङबीच शुक्रबार प्रायोजन सम्झौता भएको छ । एनओसी र कामरु ट्रेडिङबीच टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई सबै पोशाक प्रायोजन गर्ने सम्झौता भएको हो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

ओलम्पिकमा भाग लिने खेलाडी र प्रशिक्षकलाई केल्मीले आफ्ना ब्रान्डका सामान उपलब्ध गराउने छ । खेलाडी र प्रशिक्षक गरेर झन्डै १७ जनालाई सामाग्री प्रदान गरिनेछ । अफिसियल १९ जनाले पनि केहि सामग्री पाउनेछन् । केल्मीले ओलम्पिकमा सहभागी हुँदा प्रयोग गरिने खेल पोशाक लगायतको सामाग्री उपलब्ध गराउनेछ ।

सामाग्रीको कुल मूल्य झन्डै २० लाख रुपैयाँ रहेको छ । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद र नीजि क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेकोमा जोड दिनु हुँदै कामरुसँगको सहकार्य भविष्यमा पनि हुने बताउनुभयो । त्यस्तै, कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले कामरुसँगको अनुबन्ध सुरुआत मात्र रहेको बताउनु भयो ।

त्यस्तै, कामरुका निर्देशक न्यौपानेले टोकियो ओलम्पिकमा सहभागी हुने टोलीको पोशाक प्रायोजन गर्न पाएकोमा खुसी भएको बताउनु भयो । कार्यक्रमका अवसरमा कमिटीका सदस्य तथा मार्केटिङ एन्ड स्पोनसर कमिटीका संयोजक गोपाल कक्षपतिले नेपाली खेलकुदका विकासका लागि यस प्रकारको प्रायोजन बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा कमिटीका महासचिव श्री निलेन्द्र राज श्रेष्ठ र सचिव दीपकहर्ष बज्राचार्यको पनि उपस्थिति रहेको थियो ।