शहीदको नामको सभागृह भत्काएर ‘नगरको गौरव’

2.1k
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

दोस्रो जनआन्दोलनमा काठमाडौंमा शहादत प्राप्त गरेका मकवानपुरका शहीद वासुदेव घिमिरेको नाममा निर्माणाधीन सभागृह भत्काएर सोही स्थानमा १३ तले व्यावसायिक बहुउद्धेश्यीय भवन बनाउने प्रक्रिया शुरु भएपछि सम्बन्धित वडाध्यक्षले सामाजिक सञ्जालमा खुशी साट्दै लेख्नुभएको छ–प्रतिवद्धता पूरा गर्दैछौं । विकासमा कायापलट गर्छाैं ।’ हेटौंडा उपमहानगरपालिका वडा–४ स्थित हाल जीर्णरुपमा रहेको बासुदेव सभागृह बिस्थापन गरेर ‘नगर गौरव’ को योजनामा सुविधासम्पन्न फ्लोर पार्किङसहित अत्याधुनिक बहुउद्धेश्यीय व्यावसायिक भवन बनाउन ९६ करोड लागत अनुमान गरिएको छ ।

जसका लागि उपमहानगरका तर्फबाट बोलपत्र आह्वान पनि भइसकेको छ । वडाध्यक्ष नवीन सिग्देलका अनुसार यसको अवधारणाको विकास बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा नगर प्रमुख हरिबहादुर महत कार्यान्वयनमा दृढतापूर्वक लाग्नुभएको छ । प्रदेशको राजधानी हेटौंडाको यो त्यही बहुप्रतीक्षित सभागृह हो, जसको निर्माणसम्पन्न गर्नका लागि नगरपालिकाले नै करोडौं खर्च गरिसकेको छ ।

सुविधायुक्त सभागृहको अभाव रहेको हेटांैडामा बिहीबारमात्र उपमहानगरपालिकाले आफ्नो नगर परिषद् भाडा तिरेर एउटा निजी पार्टी प्यालेसमा गरेको छ । तर, आफ्नै करोडौं लगानी परिसकेको र केही लाख खर्च गरे निर्माण पूरा हुने तयारीमा रहेको हुँदाछँदाको सभागृह भत्काएर व्यावसायिक बहुउद्धेश्यीय भवन निर्माणको तयारीमा नगरपालिका छ । सभागृह भत्काउन उपमहानगरपालिका नगर कार्यपालिकाको २०७६ को बैठकले निर्णय नै गरिसकेको छ । स्थानीय विकास मन्त्रालय, तत्कालीन जिल्ला विकास समिति र हेटौंडा नगरपालिकाको संयुक्त लगानीले सभागृह निर्माण भएको थियो ।

सभागृह भत्काएर प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकको संयुक्त लगानीमा भ्युटावर बनाउन लागिएको छ । १ बिगाहा क्षेत्रफलमा बन्ने भ्युटावरको लागि नगरपालिकाले २ करोड छुट्याएको थियो । बहुवर्षीय योजनाअन्तर्गत् बहुउद्धेश्यीय व्यापारिक भवन निर्माण कार्य शुरु गर्न आगामी वर्षका लागि पनि बिहीबारको नीति तथा कार्यक्रममा १५ करोड विनियोजन गरिएको छ । पूर्वउपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले भने सभागृह भत्काउने नदिइने बताउनुभएको छ । तत्कालीन स्थानीय विकास मन्त्री रहनुभएका थापाकै पहलमा सभागृह निर्माणका लागि बजेट बिनियोजन भएको थियो ।

तर, सभागृह निर्माणले १५ वर्षसम्म पनि पूर्णता पाउन सकेको छैन । जबकि, कार्यपालिका बैठकले सभागृहमा ‘प्राविधिक त्रुटि’ भएको भन्दै भत्काउनुपर्ने जिकिर गरेको छ । मेयर महतले २०७६ पुस २० गतेको पत्रकार सम्मेलनमा सभागृह उपयोगमा ल्याउन नमिल्ने भएकाले भत्काउने तयारी भएको जानकारी दिनुभएको थियो । बागमती प्रदेशसभाको बैठकमा सांंसद् रिता माझीले सभागृह नभत्काउन आग्रह गर्नुभएको थियो ।

सांंसद् माझीले सभागृह भत्काउने कार्यमा प्रदेश सरकार पनि संलग्न रहेको र प्रोत्साहन गरिरहेको आरोप लगाउँदै निर्णय फिर्ता लिन आग्रह गर्नुभयो । सांसद् माझीले सभागृह भत्काएर भ्युटावर बनाउनु आवश्यक नरहेको भन्दै भ्युटावर आवश्यक भए हेटौंडाका विभिन्न महत्वपूर्ण ठाउँमा निर्माण गर्न सुझाव दिनुभयो । सभागृहका लागि २०६३ मा निर्माण सुरु भएर तीन वर्षसम्म लगातार स्थानीय विकास मन्त्रालयको जगेडाकोषको एक करोड ३० लाख खर्च गरिएको थियो । त्यसपछि सभागृह निर्माणको काम अघि बढ्न सकेन ।

नगरपालिकाले प्रस्तावित योजनामा सभागृह बाहिर सुन्दर बगैंचा, पानीका फोहरा, व्यबस्थित पार्किङस्थल र शौचालय रहने बताएको छ । भवनको बाहिरी भाग पनि आकर्षक रंगरोगन, बुट्टा कुँदेर सुन्दर बनाउने योजना छ ।
तत्कालीन सरकारका स्थानीय विकास मन्त्री रहनुभएका थापाकै पहलमा २०६३ सालमा निर्माण सुरु भएको सभागृहको नाम ‘ज्ञानेन्द्र सभागृह’ राखिएको थियो । जनआन्दोलनपछि मकवानपुरका शहीद बासुदेव घिमिरेको नाममा नामाकरण गरिएको थियो ।

अध्यक्ष थापाले आफ्नै पालामा राजा ज्ञानेन्द्रको नामबाट सञ्चालित सभागृह पछि मकवानपुरे शहीद बासुदेवको नाममा परिणत भएको बताउँदै सभागृह भत्काउने निर्णयप्रति आपत्ति रहेको बताउनुभयो ।बागमती प्रदेशको संसद् सचिवालयको संसद् बैठक भवन साँघुरो भएपछि स्थायीरुपमा बासुदेव सभागृहलाई प्रयोग गर्ने तयारी गरिएको थियो । हेटौंडा–१० स्थित क्षेत्रीय शिक्षा निर्देशनालय भवनमा प्रदेशसभा बैठक बस्न सांसद्हरु, केही सञ्चारकर्मी र केही आगन्तुकमात्र अटाउने भएकोले स्थायीरुपमा प्रदेशसभा राख्न सभागृहलाई तयारी गरिने बताइए पनि त्यसो हुन सकेन । ‘सभाहल भत्काएर भ्युटावर बनाउने हैन, बरु हुप्रचौरलाई अतिक्रमण गरी बनाइएका सम्पूर्ण संरचना भत्काएर खुला हुप्रचौर निर्माण गरौं,’ मकवानपुर जागरण अभियान अध्यक्ष कृष्णराज कोइरालाले भन्नुभयो ।