ब्रिक्स राष्ट्र समूहको हरित हाइड्रोजन सम्मेलन भारतमा


इन्डिया न्युज नेटवर्क । 

भारतले यसपटकको हरित हाइड्रोजन सम्मेलन आयोजना गर्ने भएको छ । यस सम्मेलन मा ब्रिक्स देशहरूले आफ्ना पहल साझा गर्नेछन् । साथै, यसलाई कसरी अर्को तहमा पु-याउने भन्नेबारे पनि यस समूहले छलफल गर्ने भएका छन् ।जुन महिनाको २२ र २३ तारिखमा यस सम्मेलन को अनलाइन आयोजना हुँदै छ । सहभागी देशहरू भिडियो कन्फरेन्सको माध्यमबाट जोडिनेछन् ।

विश्वव्यापी उर्जा प्रमुख नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) द्वारा सञ्चालित गरिने यस भर्चुअल शिखर सम्मेलनमा विश्वका सर्वश्रेष्ठ विद्वान, नीति निर्माता र प्रमुख सरोकारवालाहरू सहभागी हुँदै छन् । उनीहरूले ऊर्जा विकासमा हाइड्रोजनको भविष्यको बारेमा छलफल गर्ने भएको भारतीय ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।पहिलो दिन प्रत्येक देशका प्रतिनिधिहरूले आफ्ना देशमा हाइड्रोजनको उपयोग र उनका भावी योजनाहरू र पहल साझा गर्ने कार्यक्रम रहेको छ । मन्त्रालयका अनुसार विभिन्न वक्ताहरूले हाइड्रोजनमा विकसित विभिन्न प्रविधिहरूको प्रासंगिकता र आफ्नो देशका लागि यसका प्राथमिकताहरू पनि साझा गर्नेछन् ।दोस्रो दिन विभिन्न देशहरू द्वारा समग्र उर्जा नीति पूर्वाधारमा हाइड्रोजन एकीकृत गर्ने विचारहरूमा प्यानल छलफल हुने बताइएको छ । उदीयमान हरित हाइड्रोजन प्रविधिहरूको लागि वित्तीय विकल्पहरू प्रदान गर्नका लागि थप छलफल र प्राविधिक विकासको लागि आवश्यक इकोसिस्टम बनाउनको लागि संस्थागत समर्थन पनि जुटाइनेछ ।

ऊर्जा मन्त्रालयले हाइड्रोजन एक महवपूर्ण भूमिका निभाउन र अक्षय संशाधनलाई तीव्र गतिमा निर्माण गर्न तयार रहेको बताएको छ । विश्व अहिले सम्पूर्ण ऊर्जा प्रणालीलाई कार्बनरहित बनाउन अघि बढिरहेको छ ।नवीकरणीय उर्जा प्रयोग गरी इलेक्ट्रोलाइसिसले उत्पादन गरेको हाइड्रोजनलाई ग्रिन अर्थात् हरित हाइड्रोजन भनेर चिनिन्छ । यसमा कार्बनको थोरै मात्रा पनि नरहने बताइएको छ ।यसले हाइड्रोजनलाई हरित प्रयोगमा ल्याउन बढावा दिनेछ र अरू इन्धनको प्रयोगलाई निरूत्साहित गर्नेछ । यद्यपि, टेक्नोलोजी, दक्षता, वित्तीय व्यावहारिकता र मापनसम्बन्धी चुनौतीहरू छन् जसलाई सम्मेलनमा सम्बोधन गरिनेछ ।

हरित हाइड्रोजनको असंख्य प्रयोग छन् । एमोनिया र मेथेनलजस्ता हरित रसायनहरू प्रत्यक्षरूपमा मल, गतिशीलता, ऊर्जा, रासायनिक, ढुवानी आदिमा प्रयोग गर्न सकिन्छ । व्यापक मान्यता प्राप्त गर्न सीजीडी नेटवर्कमा १० प्रतिशतसम्म हरित हाइड्रोजनको मिश्रण प्रयोग गर्न सकिन्छ ।